प्रस, वीरगंज, २८ फागुन/
सहयात्री समाज नेपाल पर्साले एचआइभी रोकथाम सहयोग हेरचाह तथा उपचार परियोजना अन्तर्गत शुक्रवार सरोकारवालासँग समन्वयात्मक बैठक गरेको छ।
सहयात्री समाज पर्सामा आयोजित समन्वयात्मक बैठकमा कार्यक्रम संयोजक समता बमले चालू आवमा आर्थिक वर्ष २०७७/०७८ मा लक्ष्यभन्दा बढी उपलब्धि हासिल भएको बताइन्। उनले लक्ष्य २४ जना सङ्क्रमित पत्ता लगाउने रहेको तर २६ जना पत्ता लागेको बताइन्। यौनिक तथा लैङ्गिक समुदाय, समलिङ्गी र तेस्रोलिङ्गी लक्षित कार्यक्रममा अधिकतम २ सय ७ जनाले एआरटी खाँदै गरेकोमा २८ जनाले मात्र नियमित खाइरहेको जानकारी गराइएको थियो।
उनले यस वर्ष दुईजना सङ्क्रमितको मृत्यु भएको बताइन्। यस वर्ष २२ हजार ३ सय ७३ वटा कन्डम वितरण गरिएको उनले बताइन्। पर्साको १४ वटा पालिकामा कार्यक्षेत्र बनाएर कार्य गर्दै आएको सहयात्री समाजले यस कार्यमा दशजना कर्मचारीलाई परिचालन गरेको संयोजक बमले बताइन्। उनले थोरै जनशक्तिबाट जिल्लाका १४ वटै पालिका भ्याउन समस्या भएको बताइन्। उनले लुकेर बसेका एचआइभी सङ्क्रमितहरूलाई बाहिर ल्याउन पनि चुनौती रहेको बताइन्। यसैगरी, सीमित साधन र स्रोतबाट सबैलाई सेवा दिन पनि समस्या भइरहेको उनको भनाइ थियो।
उनले सङ्क्रमितहरूमध्ये अतिविपन्न, गरीबलाई स्थानीय पालिकाले स्वास्थ्य उपचार र औषधिमा सहयोग गर्नुपर्ने सुझाव दिइन्। समस्या समाधानका लागि पालिकाले यस विषयमा ध्यान दिन जरुरी भएको उनको भनाइ थियो। यस वर्ष पालिकाहरूको योजना तर्जुमामा एचआइभी सङ्क्रमितहरूका लागि बजेट राख्न उनले आग्रह गरिन्।
बैठकमा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख कामेश्वर चौरसिया, गैरसरकारी संस्था महासङ्घ नेपाल पर्साका अध्यक्ष छठु साह, नारायणी अस्पतालकी एआरटी प्रमुख सरिता श्रेष्ठ, वीरगंज महानगरपालिकाका पब्लिक हेल्थ निरीक्षक सुमनचन्द्र ठाकुर, वडा प्रहरी श्रीपुरका प्रहरी निरीक्षक दीपक साह, माइती नेपालकी पूजा शाही र विजामकी उषाकिरण चौधरीलगायतको सहभागिता थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here