प्रस, वीरगंज, २७ फागुन/
अहिले दाइजो नलिएर बिहे भएको कमै सुन्न पाइन्छ।
दाइजो नलिएको परिवारजनबाट कुरा सुनिए पनि गोप्यरूपमा विनादाइजो बिहे भएकै हुँदैन। शुरूमा दाइजोविना बिहे भएको दाबी गर्नेहरू पनि छोरीसँग उसको ससुरालीमा दुव्र्यवहार, कुटपिट, हत्याका घटना भएपछि दाइजो लिएको कुरा निकालिन्छ।
पर्सा र बारा प्रहरीमा यस प्रकारका कैयौं मुद्दा छन्। तर यसैबीच फागुन २६ गते बारा जिल्ला प्रसौनी गाउँपालिका–४ का अनवारुल अन्सारीले वीरगंज महानगरपालिका–२ घुसुकपुरकी समिना प्रवीणसँग विनादाइजो बिहे गरेका छन्।
पछिल्लो समयमा तराईको मुस्लिम समुदायमा पनि हैसियत अनुसारको दाइजो लिने, दिने कार्य निकै मौलाएको छ। तर अनवारुल र समिनाका परिवारमा यस्तो भएन। दुवैतर्फका सामाजिक अगुवाहरूको रोहबरमा मागी बिहे भयो, त्यो पनि विनादाइजो। अनवारुलका पिता इलियास अन्सारी र समिनाका पिता इस्माइल अन्सारीको परिवारले विनादाइजो बिहे गरेर समाजमा चर्चा पाएका छन्।
दाइजोविनाको बिहेका साक्षी बनेका थिए सामाजिक कार्यकता, सञ्चारकर्मी र टोलका अगुवाहरू। हिजो एकै दिन देखासिखी भयो केटाले केटी र केटीले केटा मन पराएपछि हिजै मुस्लिम रीतिरिवाजमा वैवाहिक कार्यक्रम सम्पन्न भएको थियो।
सामाजिक कार्यकर्ता प्रकाश थारूले विनादाइजो बिहे गरेर अन्सारी परिवारले समाजमा राम्रो सन्देश प्रवाह गरेको बताए। उनले अन्सारी परिवारको सिको सबैले गर्न सकेको खण्डमा मात्र हाम्रो समाजबाट दाइजो जस्तो कुरीतिको अन्त्य सम्भव हुने प्रतिक्रिया दिए।