प्रस, वीरगंज, २६ फागुन/
वीरगंज महानगर–२ छपकैयास्थित श्रीराम कोलोनीको जग्गा ठगी प्रकरण पेंचिलो बन्दै गएको छ। जिल्ला प्रहरी कार्यालय, पर्साले ठगी प्रकरणमा प्रेम जाटियालाई पक्राउ गरी कारबाई शुरू गरेपछि यो मुद्दा पेंचिलो बन्दै गएको हो।
जिप्रका पर्साले यससम्बन्धी कागजात भूमिसुधार तथा मालपोत कार्यालय, पर्साबाट माग गरेकोमा सम्बन्धित कार्यालयले सोसम्बन्धी कागजात पठाउन आलटाल गरेपछि फागुन २५ गते साँझ प्रहरीले भूमिसुधार कार्यालयमा छापा मारी सोसम्बन्धी कागजपत्र आफ्नो नियन्त्रणमा लिएको छ। कागजात लिने क्रममा कार्यालयबाट आवश्यक केही कागजपत्र गायब पारिएको प्रहरीले दाबी गरेको छ। पत्र अनुसार कागजातहरू पठाउन ढिलो गरेपछि प्रहरी परिचालन गर्नुपरेको र सो क्रममा त्यहाँका कर्मचारीहरूले यसअघि नै आवश्यक कागजातहरू गायब पारेको प्रहरीको भनाइ छ। प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले घटना सार्वजनिक भएपछि यससम्बन्धी कागजातहरू संलग्न कर्मचारीहरूको मिलेमतोमा गायब पारिएको बताए।
भूमिसुधार तथा मालपोत कार्यालयका प्रमुख कुमुद तिवारीले कर्मचारीको अभावमा प्रहरीले मागेको समयमा कागजपत्र पठाउन नसकेको बताए। उनले प्रहरीले कार्यालयबाट कागजात लैजाने क्रममा आफूहरूले सहयोग गरेको बताए। उनले आफ्नो निगरानीमा रहेको कुनै पनि कागजात गायब नपारिएको दाबी गरेका छन्।
२०६० सालसम्म श्रीराम कोलोनीको १७ वटा कित्तामा साबिक जग्गाधनी गोपाल अग्रवालको नाममा रहँदा मोही थियो। कित्ता नं ६० को जग्गामध्ये ७ कट्ठा जग्गा खरीद–बिक्री हुँदा २०६२ सालमा अर्को कित्ता बनाएर मोही लुकाइएको थियो। मोही भएको जग्गाबाट मोहीवालाहरूको भाग नछुट्याएर जग्गा बिक्री गरेको कारण अहिले यससम्बन्धी अनुसन्धान भएको र सो कुराको पुष्टि भएको हो।
कित्ता नं ६० बाट कित्ताकाट गरी कित्ता नं ३५ कायम गरेको र श्रीराम कोलोनीको नाममा १७ वटा कित्ताबाट ७ कट्ठा जग्गा बिक्री भएको हो। अहिले सो जग्गामा मोहीवालाहरूले दाबी गर्दै मुद्दा दिएपछि घटना सार्वजनिक भएको हो। जाटियासँग जग्गा खरीद गर्नेहरूले आफूहरू ठगिएको भनी प्रहरीमा उजूरी गरेपछि जाटियालाई पक्राउ गरिएको हो। जाटियासँगै उनकी पत्नी र मोही दाबी गर्नेहरूविरुद्ध पनि प्रहरीले मुद्दा दायर गरेको छ। साबिक जग्गाधनी गोपाल अग्रवाल अहिलेसम्म पक्राउ परेका छैनन्।
पर्सा प्रहरीले १५ वर्षदेखि मोहीवालाले जग्गाको खोजीनीति नगरेको र अहिले बिक्री वितरण गरी भवन निर्माण भएपछि मोहियानी हक दाबी गर्नुको अर्थ प्रस्ट नभएको कारण मोहियानी हक दाबी गर्नेहरूविरुद्ध पनि मुद्दा दायर गरिएको प्रउ पाण्डेले बताए।
Home समाचार प्रमुख समाचार श्रीराम कोलोनी जग्गा प्रकरण पेंचिलो बन्दै. मोहीविरुद्ध मुद्दा, भूमिसुधारबाट कागजात गायब