प्रस, ठोरी, २२ फागुन/
कोरोनाविरुद्धको खोपबारे ठोरी गाउँपालिकाका ज्येष्ठ नागरिकहरूलाई अभिमुखीकरण कार्यक्रम गरी जानकारी गराइएको छ।
आइतवार फागुन २३ गतेदेखि सरकारले ६५ वर्ष पूरा भएका ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको खोप दिने कार्य शुरू गर्ने हुनाले ठोरी गाउँपालिकाले गापामा भएका ज्येष्ठ नागरिकहरूलाई जानकारी गराउने अभिप्रायले कार्यक्रम आयोजना गरेको स्वास्थ्य संयोजक रमेश थिङले बताए।
गापा कार्यालय घ्याङडाँडामा आयोजित कार्यक्रममा सहभागीहरूलाई स्वास्थ्य संयोजक थिङले ठोरी, निर्मलबस्ती, सुवर्णपुरस्थित स्वास्थ्य चौकीमा कोरोनाविरुद्धको खोप लगाइने जानकारी गराए।
उनले वडा नं १ र २ का ज्येष्ठ नागरिकलाई ठोरी–२ गौतमनगरस्थित स्वास्थ्यचौकी, वडा नं ३ र ४ का ज्येष्ठ नागरिकलाई विजयबस्ती स्वास्थ्यचौकी र वडा नं ५ का ज्येष्ठ नागरिकलाई सोही वडाको सुवर्णपुर स्वास्थ्यचौकीमा कोरोनाविरुद्धको खोप लगाउने व्यवस्था गरिएको बताए। उनले यो चरणको खोप फागुन २३ देखि २६ गतेसम्म ठोरी गाउँपालिकामा सञ्चालन हुने र त्यसका लागि प्रत्येक केन्द्रमा दुईजना खोप लगाउने स्वास्थ्यकर्मी र स्वास्थ्य स्वयंसेवकको व्यवस्था गरिएको बताए। उनले अहिलेसम्म नेपालमा कोरोनाविरुद्धको खोपको कुनै नकारात्मक असर देखा नपरेको हुनाले गापाका सबै ज्येष्ठ नागरिकलाई खोप लगाएर सुरक्षित हुन आग्रह गरे।
ठारी गाउँपालिकामा अनुमानित २ हजार ५ सय ज्येष्ठ नागरिक छन्।