प्रस, वीरगंज, २० फागुन/
वीरगंज, छपकैयाको रेलवे सडकको छेउमा रहेको श्रीराम कोलोनीका तत्कालीन जग्गाधनी प्रेम जाटियालाई ठगी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय, पर्साले पक्राउ गरेको छ।
श्रीराम कोलोनीको जग्गा खरीद गरी १७ वटा कित्तामा बिक्री गरेपछि मोहीवालाले हकदाबी गरेपछि प्रहरीले जाटियालगायत पाँचजनामाथि सङ्गठित ठगी मुद्दा दर्ता गरेको छ। श्रीराम कोलोनीको जग्गा १७ कित्तामा बिक्री गर्दा तत्कालीन अवस्थामा मोही नदेखिएको र पछि मोहीवालाले मुद्दा गरेपछि आफूहरू ठगिएको भन्दै कृष्ण सर्राफलगायत अन्य पीडितले जिल्ला प्रहरी कार्यालय, पर्सामा उजूरी दर्ता गराएका थिए। पीडित सर्राफका अनुसार २०६० सालमा सो जग्गाको बिक्री शुरू भएको र आफूहरू २०६५ सालदेखि घर बनाएर बसिरहेको अवस्थामा अहिले आएर एक्कासि मोहीवालाले भूमिसुधारमा मुद्दा गरेपछि न्यायको लागि पीडितहरू जिल्ला प्रहरी कार्यालय पुगेका थिए।
पीडित सर्राफका अनुसार जग्गाधनी रुद्रदेवी उपाध्यायबाट गोपाल अग्रवाल र अग्रवालबाट प्रेम जाटिया र त्यसपछि १७ जनाले सो जग्गा खरीद गरेका थिए। ६० नं कित्ताबाट २०६० सालमा जाटियाले ७ कट्ठा जग्गा खरीद गर्दा गोपाल अग्रवालको लालपुर्जामा मोही देखिएको तर जाटियाको लालपुर्जामा मोही महल खाली रहेकोले आफूहरूले स्वच्छ जग्गा खरीद गरेको सर्राफले
बताए।
पीडितहरूले जाटिया, उनकी पत्नी, गोपाल अग्रवाल, मोहीवालालगायत पाँचजनामाथि मुद्दा दर्ता गरी अनुसन्धान शुरू गरेको छ।
१० वर्षसम्म मोहीवाला चुप लागेर बसेको र आफ्नो हकभोगको जग्गा अहिलेसम्म किन नलिएको भन्दै प्रहरीले पाँचजनामाथि मुद्दा लगाएको प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले बताए। उनका अनुसार १५ वटा प्रश्नसहित सो जग्गासम्बन्धी अन्य सक्कल कागजातसहित उपस्थित हुन भूमिसुधार कार्यालयलाई पत्राचार गरेको बताए। प्रहरी स्रोतका अनुसार जाटिया दुई दिनदेखि प्रहरीको नियन्त्रणमा छन्।