प्रस, निजगढ, २० फागुन/
आर्थिक विधेयक २०७७ ले प्रदान गरेको छुट सुविधासम्बन्धी अन्तत्र्रिmया निजगढमा बिहीवार सम्पन्न भयो। कार्यक्रममा आन्तरिक राजस्व कार्यालय सिमरा बाराका प्रमुख नारायणप्रसाद भण्डारीले उद्योगी–व्यवसायीलाई राज्यबाट नै कर छुट आएकोले तोकिएकै समयसीमाभित्र करचुक्ता गरी लाभ लिन आग्रह गरे।
कार्यक्रममा सहभागी उद्योगी–व्यवसायीहरूले आन्तरिक राजस्व कार्यालयमा जाँदा कर्मचारीहरूको व्यवहार मैत्रीपूर्ण नहुने, प्रक्रिया झन्झटिलो बनाउने जस्ता अनावश्यक दुःख दिने गरेकाले कर तिर्न जाँदा पनि पीडाबोध हुने वातावरण अहिले पनि कायमै रहेको खुलेरै पीडा पोखे। कार्यक्रमका प्रमुख अतिथि निजगढका प्रमुख सुरेशकुमार खनालले कर तिर्न आउने उद्योगी–व्यवसायीहरूलाई मैत्रीपूर्ण व्यवहार गर्न आग्रह गर्दै जनताले तिरेको करबाट नै मुलुक सञ्चालन हुने भएकोले समयमैं राज्यलाई कर तिर्न उनले आग्रह गरे।कार्यक्रममा विशिष्ट अतिथि निजगढकी उपप्रमुख लीलादेवी लामिछानेले सबै उद्योगी–व्यवसायीलाई करको बारेमा जानकारी नहुने हुँदा बेलाबखत तालीमको व्यवस्था र सेवाग्राहीहरूले नबुझेका कुरालाई सहज ढङ्गले बुझाउँदै बेलैमा राज्यलाई कर तिर्नुपर्छ भन्ने वातावरण सिर्जना गर्नुपर्ने बताइन्।
सो कार्यक्रममा सुकुमबासी समस्या समाधान आयोग बाराका अध्यक्ष अम्बिकाप्रसाद चौलागाईंले पनि मन्तव्य व्यक्त गरेका थिए।
निजगढ नगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष रामकृष्ण नेपालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन स्थानीय उद्योगी ज्ञानेन्द्रप्रसाद चौलागाईंले गरेका थिए। आन्तरिक राजस्व कार्यालय बाराको आयोजना र निजगढ नगर उद्योग वाणिज्य सङ्घको समन्वयमा भएको कार्यक्रममा सहभागी उद्योगी–व्यवसायीहरूले आआफ्नो गुनासासमेत राखेका थिए।