प्रस, निजगढ, २० फागुन/
एक महीनाअघि बाराको करैयामाई गाउँपालिका–७ प्रिपामा वन सुरक्षाकर्मीहरूमाथि सामूहिकरूपमा गरेको आक्रमणको घटनामा संलग्न सोही गाउँपालिका–७ का बलिराम दास थारू पुर्पक्षको लागि जेल चलान भएका छन्।
सालको गोलिया चोरी गरी बस्ती आसपासको स्थानमा लुकाएको सुराकी दिएर फरेस्टर जयप्रकाश साह, सशस्त्र वनरक्षक जमदार नवलकिशोर साह, सशस्त्र वनरक्षक मानबहादुर श्रेष्ठ, वनरक्षक नवीन चौधरीमाथि माघ १९ गते राति योजनाबद्ध तरीकाबाट आक्रमण गरिएको थियो। सो आक्रमणमा घाइते भएकामध्ये साह, श्रेष्ठ र चौधरी अहिलेसम्म पूर्णरूपमा स्वस्थ भएका छैनन्। उनीहरूको उपचार भइरहेको डिभिजन वन कार्यालय बाराले जनाएको छ।
सो घटनाका घाइते सशस्त्र वनरक्षकले अभियुक्त बलिरामलाई सोही बखत नियन्त्रणमा लिन सफल भएका थिए। अभियुक्त बलिराममाथि बारा प्रहरीले अनुसन्धान गरी मुद्दा दायर गरेसँगै बारा जिल्ला अदालतले फागुन १८ गते पुर्पक्षका लागि जेल चलानको आदेश दिएको र उनलाई वीरगंज कारागार चलान गरिएको डिभिजन वन कार्यालय बाराले जनाएको छ।
सो घटनामा संलग्न थप तीनजनामाथि कर्तव्य ज्यान मुद्दालगायतको किटानी जाहेरी डिभिजन वन कार्यालय बाराले बारा जिल्ला अदालतमा दिएको थियो। सो घटनामा संलग्न भएका २० जनाभन्दा बढी काठ तस्कर फरार छन्।
घटनामा संलग्नलाई कानूनी दायरामा ल्याएरै छाड्ने जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here