प्रस, सेढवा, १८ फागुन/
पर्साको ग्रामीण क्षेत्रबाट पेट्रोलियम पदार्थको तस्करी जारी छ।
भारतमा पेट्रोलियम पदार्थ नेपालको तुलनामा महँगो भएकोले केही महीनादेखि पेट्रोलियम पदार्थको तस्करी बढेको हो।
विजयबस्ती, सुवर्णपुर, सेढवा, महादेवपट्टि, पिडरीगुठी, पाँडेपुर, जानकीटोला, आसवारी, मिर्जापुर, बुढगाइँ, भिस्वामा नेपाल प्रहरीको एकाइ कार्यालय छ भने सुवर्णपुर, महादेवपट्टि, पिडरीगुठी, भिखमपुर, बन्जारी र भिस्वामा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट छन् तर पनि पेट्रोलियम पदार्थको तस्करी निर्बाधरूपमा हुँदैछ। भारतीय सीमा इनर्वा, भङ्गाहा, मैनाटार, डुमाटारलगायतका स्थानमा ग्रामीण क्षेत्रमा रहेका पेट्रोलपम्पबाट ड्रम, ग्यालेनमा भरेर पेट्रोल, डिजेल, मोटरसाइकल, साइकल र ट्याक्टरबाट लैजाने गरिएको छ।
भारतमा पेट्रोल भारु ८७.३० र डिजेल भारु ७९.५० प्रतिलिटर छ। सोको तुलनामा नेपालमा अहिले लगातार पेट्रोलियम पदार्थको मूल्यवृद्धि हुँदा पनि प्रतिलिटर पेट्रोल रु ११६ र डिजेल रु ९६ पुगेको छ। नेपालमा भारतभन्दा पेट्रोलमा अहिले पनि प्रतिलिटर रु २४ र डिजेलमा रु ३१ कम छ। यसैले अहिले पनि पेट्रोलियम पदार्थको तस्करी निर्बाधरूपमा भइरहेको छ।