प्रस, बारा, १६ फागुन/
साधुसन्त समाज बाराको प्रथम सभा एवं सम्मेलन बाराको कलैयामा शुरू भएको छ।
मटिहानी मठका मठाधीश राष्ट्रव्यापी मानमहन्त स्वामी जगरनाथ दासजी महाराजको प्रमुख आतिथ्यमा सम्मेलन शुरू भएको हो। समाजका बारा जिल्ला अध्यक्ष महेन्द्र दासजी वैरागी सभापति रहेको सभामा रामकिसुन दासजी वैरागी, समाजका केन्द्रीय अध्यक्ष शिवनाथ दासजी वैरागी, केन्द्रीय कोषाध्यक्ष रामाकान्त दासजी वैरागी, केन्द्रीय सचिव राजदेव गिरी, सिद्धेश्वर संस्कृत माध्यमिक विद्यालयका प्रधानाध्यापक छविरमण सुवेदीलगायतको आतिथ्य रहेको थियो।सभालाई सम्बोधन गर्दै सभाका प्रमुख अतिथि मानमहन्त जगरनाथ दासजीले नेपाल हिन्दू राष्ट्र नहुँदासम्म हाम्रा दिदीबहिनी एवं चेलीबेटी सुरक्षित नहुने बताए। सभाको उद्घाटन सत्रमा बोल्ने साधुसन्तले वैदिक सनातन धर्ममाथिको आक्रमण रोक्नका लागि हिन्दू धर्मावलम्बीहरू एकजुट एवं सङ्गठित हुन आवश्यक रहेको बताए। उद्घाटन सत्रअघि सहभागीहरूले कलैया बजार परिक्रमा गरेका थिए। राधाकृष्ण साधुसन्त समाजको आयोजनामा शुरू भएको सम्मेलन भोलि सोमवारसम्म चल्नेछ।
सिद्धेश्वर विद्यालयको प्राङ्गणमा जारी सम्मेलनमा नेपाल एवं भारतका विभिन्न भागबाट आएका सयौं साधुसन्तको सहभागिता छ।