प्रदेशसभा सदस्य ठाकुरसहित १७ जनाविरुद्ध मुद्दा दर्ता

प्रस, वीरगंज, २७ जेठ/

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डि एन्ड एन बिल्डर्स प्रालिका तत्कालीन प्रबन्ध निर्देशक तथा हाल मधेस प्रदेशसभा सदस्य दीपेन्द्रकुमार ठाकुर, जिल्ला धनुषा, औरही गापाका तत्कालीन अध्यक्ष ब्रहमदेव यादवसमेत १७ जना उपर सार्वजनिक सम्पत्ति हिनामिना, हानि–नोक्सानी गरी गराइ भ्रष्टाचार गरेकोसम्बन्धी आरोपपत्र विशेष अदालत काठमाडौंमा दायर गरेको जनाएको छ ।

ठाकुरविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएपछि उनको प्रदेशसभा सदस्य पद स्वतः निलम्बनमा परेको छ । ठाकुर एमालेबाट धनुषा निर्वाचन क्षेत्र नं ३ (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको औरही गापामा १५ शøयाको अस्पताल निर्माणसम्बन्धी ठेक्का प्रक्रिया चलाउँदा सार्वजनिक खरीद ऐन र नियमावलीको उल्लङ्घन गर्दै अनियमितता गरिएको ठहर गर्दै ठाकुरसहित १७ जनाविरुद्ध मङ्गलवार विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता राजेन्द्रप्रसाद पौडेलले बताए ।

उनले औरही गापा–२, देउरी परवाहामा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको एकीकृत स्वास्थ्य पूर्वाधार विकास कार्यक्रममार्फत रु २४ करोड ४३ लाख ५२ हजार ६५० को लागत अनुमानमा निर्माण गर्न लागिएको १५ श्रेया अस्पतालको लागि बोलपत्र आह्वान गर्दा प्रक्रिया बदनियतपूर्ण तरीकाले परिवर्तन गरिएको बताए ।

२०७८ सालको सुरुआतमा प्रकाशित बोलपत्रमा “Key Activities” संशोधन गरी बोलपत्रदाताहरूलाई अनावश्यकरूपमा सीमित गराइएको थियो । त्यस अनुसार एउटा मात्र अस्पताल निर्माण गरेको अनुभव भएको, साथै M35 Interlock with Multicobble in Multicolour का ५१०० वर्गमिटर काम गरेको ठेक्काको अनुभव भएको कम्पनी मात्र सहभागी हुन सक्ने प्रावधान राखिएको थियो ।

यसका कारण १५ मध्ये १३ वटा बोलपत्रदाता प्राविधिक मूल्याङ्कनमा अयोग्य घोषित भएका थिए । बाँकी दुई कम्पनी लुम्बिनी/डि एन्ड एन जेभी र समानान्तर/बबुल जेभीले म्याद थपको अन्तिम दिन मात्रै बोलपत्र दर्ता गरेका थिए । यसरी म्याद थप र Key Activities मा गरिएको संशोधनले प्रतिस्पर्धालाई कृत्रिमरूपमा सीमित बनाएको र छनोट प्रक्रियामा पारदर्शिता नदेखिएको उजूरीपछि अनुसन्धान थालिएको प्रवक्ता पौडेलले बताए ।

सबैभन्दा कम दर रु १२ करोड ३५ लाख ५० हजार २४८.८५ पेश गरेको प्रतिष्ठा/धुलिखेल/एक्सिस एशियन जेभीलाई प्राविधिक मूल्याङ्कनमा असफल घोषित गर्दै रु १९ करोड १४ लाख ६२ हजार ६३२.८३ कबोल गर्ने लुम्बिनी/डि एन्ड एन जेभीलाई ठेक्का दिइएको थियो ।

यसरी करीब छ करोड रुपैयाँ महँगो प्रस्तावलाई छनोट गरिएको ठहर गरिएको छ । यो प्रकरणमा सांसद ठाकुरले ठेक्का प्रक्रियामा प्रभाव र मिलेमतो गरेको प्रमाणित भएको अख्तियारको दाबी रहेको प्रवक्ता पौडेलले बताए ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्