प्रस, पंचगावाँ, ६ जेठ/
पर्सा राष्ट्रिय निकुञ्ज तथा डिभिजन वन कार्यालय अन्तर्गतका वन क्षेत्रमा हरिण र बँदेलको चोरी तस्करी तीव्ररूपमा बढ्दै गएको छ । पर्सा जिल्लाका विभिन्न स्थानीय तह अन्तर्गतका बस्तीहरूमा रातिको समयमा आउने वन्यजन्तुलाई तस्करहरूले शिकार गरी मासु वितरण गर्ने कार्य तीव्र बनेको छ ।
सखुवाप्रसौनी गाउँपालिकाको मधुवन मथवल, सखुवनिया, सिधपुर, अकवनिया, पर्सागढी नगरपालिकाका वडा नं १ र २ मनवा, भटिनी, कटानी, पशुपतिनगरको वडा नं ३ झबराहा, बढनिहार, तामाङ टोल, पटेर्वासुगौली गाउँपालिकाको वडा नं २ चाफी,
थरघटी र वडा नं १ मल्लुलेटारी, कञ्चनपुर, बैरिया, गदियानी, भतौडा, जीराभवानी गाउँपालिकाको वडा नं ५ शङ्करसरैया, हरैया, सखुनिया, वसन्तपुर तथा ठोरी गाउँपालिकाको विजयबस्ती, शिकारीबास र ठोरी क्षेत्रमा वन्यजन्तु शिकार गर्ने क्रियाकलाप बढेको छ ।
स्थानीयवासीहरूका अनुसार राति खेतमा बाली खान आउने बँदेल र हरिणलाई स्थानीय तस्करहरूले गोली हानी वा पासो थापी मार्ने गरेका छन् । त्यसपछि मासु काटी वितरण गर्ने वा बेच्ने गरिएको छ ।
वन्यजन्तु संरक्षण ऐन अनुसार यस्ता गतिविधि गैरकानूनी हुन् र यसले जैविक विविधता तथा वातावरणीय सन्तुलनमा गम्भीर असर पार्ने विज्ञहरू बताउँछन् ।