प्रस, वीरगंज, ५ जेठ/
मुखदेव सुशीला माध्यमिक विद्यालय रामनगरी पर्साको आयोजनामा सोमवार विद्यार्थीहरूलाई पुरस्कार वितरण तथा कक्षा १२ को बिदाइ कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा कक्षा १ देखि १० सम्मका वार्षिक परीक्षामा उत्कृष्ट गरेका छात्रछात्राहरूलाई पुरस्कार वितरण गरिएको थियो । त्यसैगरी, सो विद्यालयको कक्षा १२ मा अध्ययनरत छात्रछात्राहरूलाई बिदाइ गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मुखदेव प्रसादले विद्यालयका छात्रछात्राहरू अध्ययनशीलसँगै अनुशासित पनि रहेको बताए । यस विद्यालयलाई पालिकाको नमूना विद्यालय बनाउन विव्यस र विद्यालयका
शिक्षकहरू लागिपरेको बताए । उनले विद्यालयमा अध्ययनसँगै छात्रछात्राहरूलाई अन्य अतिरिक्त क्रियाकलापमा पनि सहभागी गराउँदा उनीहरूको मनोबल बढ्ने विश्वास व्यक्त गरे ।
विद्यालयका प्रधानाध्यापक लक्ष्मीकान्त साहको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षक अभिभावक सङ्घका अध्यक्ष विकास पटेल, पत्रकार कृष्ण यादव, चन्दन यादव, शिक्षक रामपुकार यादव, मनोज साह, सोहन यादवलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन सुजित चौरसिया र आकृति कुशवाहाले गरेका थिए ।