शिक्षकहरूको आन्दोलनले विद्यार्थी भर्ना अभियान प्रभावित

प्रमोद यादव, पंचगावाँ, ३ वैशाख/
शिक्षा मन्त्रालयले शैक्षिक सत्र २०८२ का लागि सार्वजनिक गरेको मुख्य अभियान “सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षाप्राप्तिको सुनिश्चितता” भन्ने नाराका साथ देशभर विद्यार्थी भर्ना अभियान सुरू गरेको छ । तर यो अभियान भने अहिले शिक्षकहरू निर्णायक आन्दोलनमा राजधानी केन्द्रित रहेकाले देशभरि प्रभावित भएको छ र यसबाट पर्सा जिल्ला पनि अछूतो छैन ।

पर्सा जिल्लामा हाल ३६७ सामुदायिक र १५० संस्थागत विद्यालय गरी जम्मा ५१७ वटा विद्यालय सञ्चालनमा छन् । सरकारले वैशाख २ गतेदेखि विद्यार्थी भर्ना अभियान सुरू गर्ने निर्णय गरे पनि शिक्षक आन्दोलनका कारण अभियान प्रभावित भएको हो ।

शिक्षक आन्दोलनले असर
सखुवाप्रसौनी गाउँपालिका–२ का प्रभु यादवले शिक्षक आन्दोलनले गर्दा विद्यालय सञ्चालनमा समस्या आएको बताए । शिक्षा विकास तथा समन्वय एकाइ, पर्साका समन्वय विकास अधिकारी हरि राउतका अनुसार आन्दोलनकै कारण बुधवार आयोजना हुने भनिएको कक्षा १२ को परीक्षाका लागि केन्द्राध्यक्षहरूको अन्तर्क्रिया कार्यक्रम स्थगित भयो । उनले हिजैदेखि सञ्चालन हुनुपर्ने विद्यालय भर्ना कार्यक्रम पनि प्रभावित भएको बताए ।

पाठ्यपुस्तक वितरणमा ढिलाइ
सामुदायिक विद्यालयहरूमा पाठ्यपुस्तक खरीदका लागि आवश्यक रकम विद्यालयको खातामा जम्मा भइसकेको छ । तर विद्यालय बन्द भएकाले विद्यार्थीलाई नयाँ किताब वितरण गरी विद्यालयमा स्वागत कार्यक्रम सञ्चालन गर्न सकिएको छैन ।

परीक्षा नतीजा पनि प्रभावित
वीरगंज महानगरपालिकाबाहेक पर्सा जिल्लाका अन्य पालिकाहरूमा कक्षा ८ को पालिकास्तरीय परीक्षाफल अझै सार्वजनिक गरिएको छैन । शिक्षा विकास एकाइले पनि यसबारे जानकारी नभएको जनाएको छ । यसैगरी, सामुदायिक विद्यालयहरूले प्रकाशन गर्नुपर्ने वार्षिक परीक्षाफल पनि प्रकाशित हुन सकेको छैन । शिक्षकहरू दुई साता बढीदेखि राजधानी केन्द्रित आन्दोलनमा रहेका र उनीहरू यसपटक आन्दोलनलाई निर्णायक बनाएरै फर्कने अठोटमा रहेकाले शैक्षिक क्षेत्रबाट दिइने सेवाहरू ठप्प छन् ।

पटेर्वासुगौली गापाका पूर्वअध्यक्ष हरिनारायण चौधरीले शिक्षकको माग सम्बोधन गरी तत्काल शैक्षिक वातावरण तयार गर्न सरकारसँग माग गरेका छन् । उनले शिक्षकहरू राजधानी केन्द्रित आन्दोलनमा रहेकाले विद्यालयहरू बन्द भएर वार्षिक शैक्षिक क्यालेन्डर अनुसार कार्य हुन नसकेको बताए । वीरगंज महानगरले यस अघि वार्षिक क्यालेन्डर सार्वजनिक गरिसकेको छ । तर सो क्यालेन्डर अनुसार काम भने हुन सकेको छैन । सामुदायिक र संस्थागत विद्यालयलाई लक्षित गरेर सार्वजनिक गरिएको शैक्षिक क्यालेन्डरअनुसार अहिले संस्थागत विद्यालयहरू भने भोलि वैशाख ४ गतेदेखि सञ्चालनमा आउने तर सामुदायिक विद्यालयहरूमा वैशाख २ गतेदेखि वार्षिक परीक्षाफल प्रकाशित गर्ने, विद्यालय भर्ना अभियान सञ्चालन गर्ने, पुस्तक वितरण गर्ने जस्ता कार्य हुन सकेको छैन ।

स्थगनको सूचना
पर्सा जिल्लाका विभिन्न पालिकाहरूमा रहेका सामुदायिक विद्यालयहरूले अहिले सूचना जारी गर्दै वार्षिक परीक्षाफल र विद्यार्थी भर्ना अभियानका साथै विद्यालय सञ्चालन कार्य अर्को सूचना जारी नहुन्जेलसम्मका लागि स्थगित गरिएको सूचना प्रकाशन गर्दै आएका छन् । प्रधानाध्यापकहरू अभिभावक, विद्यार्थीहरू र सरोकारवालाहरूलाई जवाफ दिँदादिँदा थाकेपछि वैशाख २ गते मङ्गलवारदेखि यस प्रकारको सूचना जारी गर्न सुरू गरेका हुन् । अर्को सूचना जारी नहुन्जेलसम्मका लागि हाल शिक्षकहरू निर्णायक आन्दोलनमा रहेकाले विद्यालय सञ्चालन अनिश्चितकालका लागि बन्द गरिएको सूचनामार्फत जानकारी गराइएको छ ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्