प्रस, पोखरिया, १५ चैत/
पोखरिया नगरपालिकामा भूमिसुधार तथा मालपोत र नापी कार्यालयको सेवा केन्द्र सञ्चालनमा आएको महीना दिन पुगेको छ ।
गत फागुन १५ गतेदेखि दुई कार्यालयका सेवा केन्द्र सञ्चालनमा आएपछि सातवटा पालिकाका सेवाग्राहीले सहजरूपमा सेवा पाएका छन् । भूमिसुधार तथा मालपोत कार्यालय पोखरिया सेवा केन्द्रका प्रमुख रामजीप्रसाद साहले दैनिक ३० भन्दा बढी सेवाग्राही लाभान्वित भइरहेको बताए । उनले एक महीना अवधिमा २५६ वटा राजीनामा, १७१ वटा दृष्टिबन्धक, २६ वटा हालसाबिक र २३ वटा नामसारीका कार्य भएको बताए ।
उनले विद्युत् सेवा अवरुद्ध हुँदा हालका लागि अन्य वैकल्पिक ऊर्जाको व्यवस्था नभइसकेकोले सेवाग्राहीहरूलाई असुविधा हुने गरेको बताए । सबै कार्य अहिले अनलाइनबाट हुने भएकाले विद्युत् सेवा अवरुद्ध भएको बखत सेवाग्राहीको काम रोकिने गरेको उनले बताए ।
पोखरियाबाट भूमिसुधार तथा मालपोत र नापी कार्यालयले पोखरिया नपा, जगरनाथपुर, धोबिनी, छिपहरमाई, कालिकामाई, पकहामैनपुर, विन्ध्यावासिनी गापा गरी सातवटा पालिकाका लागि कार्य गर्दै आएको छ । पोखरियामा भूमिसुधार तथा मालपोत र नापी कार्यालय सञ्चालनमा आएपछि वीरगंजमा रहेका भूमिसुधार तथा मालपोत र नापी कार्यालयमा भने सेवाग्राहीहरूको भीड पातलिएको छ । सो अघि सेवाग्राहीहरूका सवारीसाधनका कारण वीरगंजस्थित भूमिसुधार तथा मालपोत र नापी कार्यालयमा जाम लाग्ने गरेको थियो ।
खासगरी भूमिसुधार तथा मालपोत कार्यालय रहेको वडा नं ३ छपकैयामा कार्यालय समयमा सवारीसाधनको भीडले आवतजावतमा समस्या हुने गरेको थियो । दुईवटा सवारी पार्किङस्थल रहे पनि भीडले त्यहाँको आवागमन कार्यालय समयमा अप्ठेरो हुने गरेकामा अहिले भने सवारीसाधनको अभावमा एउटा पार्किङस्थल बन्द गरिएको छ ।