आगलागीबाट सातवटा घर नष्ट, १३ लाखको क्षति

प्रस, रौतहट, १५ चैत/
रौतहट जिल्ला गरुडा नगरपालिकाको तरकारी बजारमा शुक्रवार बिहान आगलागी भएर सातवटा घर जलेर नष्ट भएका छन् ।

गरुडा नगरपालिका–४ तरकारी बजारमा बिहान ९ः४० बजेको समयमा खाना पकाउने क्रममा सल्किएको आगो फैलिएर सातवटा घर पूर्णरूपमा जलेको जिल्ला प्रहरी कार्यालय, रौतहटले जनाएको छ । सो आगलागीबाट प्रारम्भिक अनुमानमा करीब १३ लाख बढीको नोक्सानी भएको जिप्रका, रौतहटले जानकारी गराएको छ ।

स्थानीय जिंगडियाका शेख कलाउमुद्दीनले सञ्चालन गरेको मासुपसल, जयमङ्गल चौधरीको फुसको खाजापसल, राजेन्द्र साहको फुसको पसल, सुजितकुमार चौधरीको खाजापसल, नेवालाल चौरसियाको किरानापसल, कृष्ण दासको कपडापसल, सत्येन्द्र ठाकुरको हार्डवेय पसल जलेर नष्ट भएको जिप्रका, रौतहटका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दीपककुमार रायले बताए ।

पसलभित्र रहेको ग्याँस सिलिन्डर पड्केर आगो अनियन्त्रित भएको र उनले इलाका प्रहरी कार्यालय गरुडा, स्थानीयवासी, गौर नगरपालिकाको वारुण यन्त्रको मदतबाट आगो नियन्त्रण लिएको उनले बताए । गरुडा नपामा पनि वारुणयन्त्र रहेको तर आगो निभाउनका लागि प्रयोगमा नआउने खालको रहेको स्थानीयवासीले बताए ।

खरीदकै समयदेखि वारूणयन्त्र प्रदर्शनीको रूपमा नपामा रहेको छ । सस्तो लोकप्रियता र कमिशनका कारण काम नलाग्ने अवस्थाको वारुणयन्त्र खरीद गरिएको कारण अहिलेसम्म प्रयोगमा आउन नसकेको स्थानीयको आरोप छ ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्