प्रस, वीरगंज, २८ माघ/
नारायणी अस्पतालमा ५०० शय्याको नयाँ भवन बन्ने बाटो खुला भएको छ। सोमवार सर्वोच्च अदालतले नारायणी अस्पतालको नयाँ भवन निर्माण सम्बन्धमा परेको रीट सम्बन्धमा फैसला गरेपछि भवन निर्माण गर्ने बाटो खुला भएको नारायणी अस्पतालका प्रवक्ता डा उदयनारायण सिंहले बताए।
उनले भवन निर्माणकर्ता सघन कार्यालयको हकमा फैसला भएको र त्यसको पूर्ण पाठ आएपछि मात्र विस्तृत कुरा थाहा हुने बताए। तत्कालका लागि सर्वोच्चको फैसलाले अस्पताल भवन निर्माण हुने बाटो खुला भएको उनले बताए।
नारायणी अस्पतालमा सरकारले ५०० शय्याको भवन निर्माणको लागि २०७६ सालमा बजेट विनियोजन गरेको थियो। सघन कार्यालयले सो सम्बन्धमा ठेक्का प्रक्रिया अगाडि बढाएको तर यसविरुद्ध सर्वोच्चमा मुद्दा परेपछि अहिलेसम्म भवन निर्माणको कााम अगाडि बढेको थिएन।
यही माघको दोस्रो सातादेखि अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मीले नयाँ भवनको माग गर्दै आन्दोलन शुरू गरेका थिए र आन्दोलनप्रति नेपाल चिकित्सक सङ्घ, राजनीतिक दल, नागरिक समाजको ऐक्यबद्धता थियो।