पर्सामा एचपिभी खोप अन्तर्गत पहिलो चरण सम्पन्न,  महानगरमा ३९ र जिल्लाभरिमा ५७ प्रतिशतले खोप लिए

प्रस, वीरगंज, २८ माघ/

पर्सा जिल्लामा एचपिभी (ह्युमन पापिलोमा भाइरस)विरुद्धको खोप पहिलो चरणमा लक्षित समूहको ५७ प्रतिशतले लिएको स्वास्थ्य कार्यालय, पर्साका फोकल पर्सन जयमोद ठाकुरले बताएका छन्। 

माघ २२ गतेदेखि देशव्यापीरूपमा सञ्चालित एचपिभी खोप अन्तर्गत पर्सा जिल्लामा पहिलो चरणको खोप कार्यक्रम माघ २८ गते सम्पन्न भएको र यो क्रममा वीरगंज महानगरपालिका वडा नं १ देखि १६, जीराभवानी, जगरनाथपुर, पटेर्वासुगौली गाउँपालिका र पर्सागढी तथा पोखरिया नगरपालिकामा गरी १५०७७ जनाले खोप लगाइसकेको फोकल पर्सन ठाकुरले बताए। 

पर्सा जिल्लामा ३८,५५७ जना कक्षा ६ देखि १० र विद्यालय बाहिर रहेका १० वर्षदेखि १४ वर्ष उमेर समूहका किशोरीहरूलाई खोप लगाउने लक्ष्य छ। पाठेघरको क्यान्सरविरुद्धको यो खोप लगाउन विद्यालय र विद्यालयबाहिर रहेका किशोरीहरूमा उत्साहजनक सहभागिता देखिएको छ। 

भोलि माघ २९ गतेदेखि वीरगंज महानगरपालिकाको वडा नं १७ देखि ३२ सम्म र विन्ध्यवासिनी, पकाहामैनपुर, छिपहरमाई, धोबिनी, कालिकामाई, ठोरी गापा तथा बहुदरमाई नपामा खोप लगाइने फोकल पर्सन ठाकुरले बताए। फागुन ६ गतेसम्म खोप लगाउने कार्यक्रम रहेको र अहिलेसम्म महानगरमा ३९ प्रतिशत र पर्सा जिल्लाभरिमा ५७ प्रतिशत लक्ष्य पूरा भएको फोकल पर्सन ठाकुरले जानकारी गराएका छन्।