प्रस, वीरगंज, २३ माघ/
देशभर बालकको तुलनामा बालिका हराउने क्रम बढ्दो छ । नेपाल प्रहरी प्रधान कार्यालयले उपलब्ध गराएको चालू आव २०८१/८२ को साउनदेखि पुस मसान्तसम्मको छ महीने तथ्याङ्क अनुसार देशभर सात प्रदेशमा तीन हजार ६९८ जना बालबालिका हराएकामा तीन हजार१०६ जना फेला परेको र ५९० जनाको खोजीकार्य जारी रहेको तथा दुईजनाको मृत्यु भएको छ ।
सो कार्यालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार काठमाडौं उपत्यकामा २५० जना बालक हराएकामा २११ जना फेला परेका छन् भने ३९ जना बेपत्ता छन् । कोशी प्रदेशमा १४२ जना बालक हराएकामा १२५ जना फेला परेका र २४ जना अझै बेपत्ता छन् । मधेस प्रदेशमा १२१ जना बालक हराएकामा ९० जना फेला परेका र ३१ जना बेपत्ता छन् ।
बाग्मती प्रदेशमा ७१ जना हराएकामा ६६ जना फेला परेका र पाँचजना बेपत्ता छन् । गण्डकी प्रदेशमा ७४ जना हराएकामा ६४ जना फेला परेका, नौजना बेपत्ता र एकजनाको मृत्यु भएको छ भने लुम्बिनीमा १८० जना हराएकामा १५६ जना फेला परेका र २४ जना बेपत्ता छन् । कर्णालीमा ७२ जना हराएकामा ६७ जना फेला परेका र एकजनाको मृत्यु भएको छ । सुदूरपश्चिममा १०९ जना बालक हराएकामा १०३ जना फेला परेका र छजना बेपत्ता छन् ।
हराउनेमा बालकको तुलनामा बालिकाको सङ्ख्या बढी छ । काठमाडौं उपत्यकामा ४१२ जना बालिका हराएकामा ३७२ जना फेला परेका र ४० जना बेपत्ता छन् । त्यसैगरी, कोशी प्रदेशमा ३५३ जना हराएकामा २९१ जना फेला परेका र ६२ जना बेपत्ता छन् ।
मधेस प्रदेशमा ६४५ जना हराएकामा ४३७ जना फेला परेका र २०८ जना बेपत्ता छन् । बाग्मती प्रदेशमा १९३ जना बेपत्ता रहेकामा १७७ जना फेला परेका र १६ जना बेपत्ता छन् । गण्डकीमा १८१ जना बेपत्ता भएकामा १५९ जना फेला परेका र २२ जना बेपत्ता छन् ।
लुम्बिनीमा ४९३ जना बेपत्ता भएकामा ४१८ जना फेला परेका र ७५ जना बेपत्ता छन् भने कर्णालीमा १५१ जना बेपत्ता भएकामा १४२ जना फेला परेका र नौजना बेपत्ता छन् । यसैगरी, सुदूरपश्चिममा २४४ जना बेपत्ता भएकामा २२८ जना फेला परेका छन् भने १६ जना बेपत्ता छन् ।
बालकको तथ्याङ्कमा सबैभन्दा बढी काठमाडौं उपत्यकाबाट बेपत्ता भएका छन् भने बालिकाको तथ्याङ्कमा सबैभन्दा बढी मधेस प्रदेशबाट बेपत्ता भएका छन् ।