धर्मेन्द्र चौरसिया, पोखरिया, १० पुस/
पर्सा जिल्लाका उखु किसानले उखु बिक्री र भुक्तानीको समस्या झेल्नु नपरे पनि उखुखेतीबाट आशाप्रद आम्दानी नभएपछि बाली परिवर्तनमा लागेका छन् । वीरगंज चिनी कारखाना सञ्चालनमा रहँदा मुख्य बाली उखु थियो । दुई दशकदेखि वीचिकालि बन्द भएपछि जिल्लामा गाँजाखेती फस्टाएको थियो । अहिले यो जिल्लाको मुख्य बाली धान र गहुँ भएको छ ।
धान र गहुँ खेतीबाट मनग्य आम्दानी हुन थालेपछि अहिले वर्षमा एक बाली मात्र हुने उखुखेतीबाट किसानहरूको आकर्षण घट्न थालेको हो । पर्सा जिल्लाको गण्डक नहरदेखि उत्तरतर्फको थरुहट क्षेत्रमा दुई बाली धान र एक बाली गहुँ, मकै, दलहन, तेलहन, सुर्ती खेती गरिन्छ भने गण्डक नहरदेखि दक्षिण बझियान सिंचाइ सुविधा भएको क्षेत्रमा पनि दुई बाली धान र एक बाली गहुँ, दलहन, तेलहन खेती हुन्छ । बझियानका १५ प्रतिशत खेतमा तीन बाली हुन्छ ।
अहिले धान र गहुँ बालीबाट मनग्य आम्दानी हुने गरेको र सोको अनुपातमा उखुबाट आशाप्रद आम्दानी हुन छाडेपछि यहाँका उखु किसानहरू बाली परिवर्तनतर्फ लागेका छन् । पर्सा उखु उत्पादक सङ्घर्ष समितिका सचिव पृथ्वी साहले उखुबालीबाट आशाप्रद आम्दानी हुन छाडेपछि जिल्लाका किसानहरू बाली परिवर्तनतर्फ लागेको बताए ।
पर्सा जिल्लामा २८ सय उखु किसान रहेको र आगामी वर्ष यो सङ्ख्यामा आधा जतिले बाली परिवर्तन गर्न सक्ने उनले अनुमान गरेका छन् । सचिव साहले नयाँ उखुखेती वर्षमा एकपटक हुने र दुईपटक सोही उखुको ठुटोबाट उखुखेती हुने बताए ।
नयाँ उखुखेती गर्ने किसानलाई प्रतिकट्ठा पाँच हजार खर्च रोपाइँ, सिंचाइ, मल आदिमा लाग्ने र ठुटोमा सोही परिमाणमा चार हजार खर्च लाग्ने गरेको तर धान र गहुँ बाली जस्तो आम्दानी नहुने गरेको उनले बताए । धान र गहुँ बालीमा बर्सेनि वृद्धि हुने तर उखुमा नाम मात्रको वृद्धि हुने गरेको उनले बताए । गत वर्षको तुलनामा यस वर्ष उखुखेतीमा प्रतिक्वीन्टल २० रुपैयाँले वृद्धि भएको उनले बताए । गत वर्ष प्रतिक्वीन्टल सरकारी अनुदान रु ७० सहित प्रतिक्वीन्टल ५३५ रुपैयाँ थियो भने यस वर्ष २० रुपैयाँ बढेर प्रतिक्वीन्टल ५५५ रुपैयाँ पुगेको उनले बताए ।
पर्सा जिल्लाको कालिकामाई गाउँपालिकाको मात्र उदाहरण लिंदा यस वर्ष ५० प्रतिशत किसानले बाली परिवर्तन गरिसकेका छन् । करीब ३० बिघा खेतमा यो पालिकामा उखुखेती हुने गरेकामा किसानहरूले बाली परिवर्तन गरेका छन् । उनले पछिल्लो समयमा उखु बिक्रीका लागि चलानको समस्या नहुने गरेको र समयमा उखुको भुक्तानी पनि पाइरहेको तर उखुखेतीबाट धान र गहुँको तुलनामा आम्दानी घटिरहेपछि किसानहरू बाली परिवर्तनमा लागेको बताए । पर्सा जिल्लाका किसानहरूले गरेका उखुखेती रौतहटको कटहरियास्थित बाबा बैजुनाथ सुगर एन्ड केमिकल्स इन्डस्ट्रिज र बाराको रिलायन्स सुगर मिलमा पठाइन्छ ।