अंश माग गर्दै १२० दिनदेखि गिरी परिवार धर्नामा

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, परवानीपुर, १० पुस/
अंश माग गर्दै विनोद गिरीको परिवार चार महीनादेखि जीतपुरसिमरा उपमहानगरपालिका–७ स्थित राजुराज गिरीको घरअगाडि धर्ना दिएर बसेको छ ।

स्व फकिराराज गिरीका आठजना छोरामध्ये एक विनोद गिरी हुन् । सातजना छोराले अंश पाएका तर विनोदले आफ्नो अंश दाजु राजेश्वरराज गिरीलाई कानूनीरूपमा हस्तान्तरण गरेका थिए ।

विनोदले पछिल्लो समयमा आफूलाई गुमराहमा पारेर अंश लिएको कागजमा हस्ताक्षर गराएको आरोप लगाउँदै आएका छन् । उनकी पत्नी मालती देवीले देवर राजुराज गिरीले झुक्याएर पतिको अंश जेठाजु राजेश्वरराज गिरीको नाममा गराएको आरोप लगाएकी छन् । विनोद गिरीको परिवार आजभन्दा तीन महीना अघि राजुराज गिरीको घरअगाडि आमरण अनशनमा बसेका थिए । २८ दिन आमरण अनशनमा बस्दा उनीहरूको स्वास्थ्य अवस्था खराब भएपछि स्थानीयवासीको दबाबमा प्रजिअ वसन्त अधिकारी घटनास्थलमा पुगेर अनशन तोड्न लगाएका थिए ।

अहिले अनशन तोडिए पनि १२० दिनदेखि विनोद गिरीकी पत्नी मालती गिरी राजुराज गिरीको घरअगाडि त्रिपाल टाँगेर २४ घण्टे धर्नामा छिन् । बिहान र बेलुकाको खाना धर्नास्थलमा नै खाएर २४ घण्टे धर्नालाई निरन्तरता दिंदै आएका छन् । धर्नामा बसेका विनोद गिरी र पत्नी मालती गिरीले अंश नपाएसम्म धर्ना जारी राख्ने र सोको लागि प्राण गए पनि प्रवाह नभएको प्रतिक्रिया दिएका छन् ।

राजुराज गिरीले पनि आफूहरूले कानूनी बाटोबाटै अंश दिइसकेको र अब थप अंश दिन नसक्ने बताएका छन् । बुबा स्व फकिराराज गिरीबाट विनोदले ३८ कट्ठा जग्गा अंशमा पाउनुपर्ने माग दाबी छ भने सो अनुरूपको जग्गा कानूनी हिसाबबाट विनोदले दाजु राजेश्वरलाई दिइसकेका छन् ।

घरायसी विवादले जीतपुरसिमरा–७ बजार क्षेत्रमा चार महीनादेखि यो लीलाबाट स्थानीयहरूले पनि समस्या भोग्दै आएका छन् । वडाध्यक्ष श्याम गुप्ताले अदालतबाट भएको आदेशमा आफूहरूले केही गर्न नसक्ने बताए । उनले नाराबाजी, जुलूस नगरी शान्तिपूर्ण धर्ना बस्न दिएको र यस विषयमा थप केही गर्न नसकिएको बताए । उनले अदालतबाटै अंश लिने काम भइसकेकोले वडाले यसबारेमा बोल्न उचित नभएको बताए ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।