निर्धनता समृद्धिका लागि खतरा हो

  • अनन्तकुमार लाल दास

अरस्तूले भनेका छन्–“निर्धनता क्रान्ति र अपराधको जननी हो”। प्रविधि, व्यापार र सञ्चारद्वारा आकार प्राप्त गरेको विश्वलाई के भनिएको छ भने “कुनै पनि देशमा निर्धनता हरेक ठाउँको लागि खतरा पैदा गर्दछ।” यो कुरा निकै महत्वपूर्ण छ। निर्धनतालाई प्रायः स्थानीय चुनौतीको रूपमा हेरिन्छ तर यसको प्रभाव भौगोलिक सीमासँग जोडिएको छैन, जसले वैश्विक स्तरमा अर्थ व्यवस्था, सामाजिक संरचना र मानवताको समग्र कल्याणलाई प्रभावित गर्दछ। अन्तर्राष्ट्रिय श्रम सङ्गठनले पनि फिलाडेल्फिया घोषणापत्रमा यस सिद्धान्तलाई सामेल गरेको छ। हुनत वर्तमान परिदृश्यमा अर्थ व्यवस्थाको समृद्धता र यसले जीवनमा ल्याएको सुगमता हेर्न सकिन्छ तर यो वैश्विक निर्धनतासँग टाढा छैन। 

निर्धनताबाट हुने प्रत्यक्ष खतरामध्ये एउटा वैश्विक स्थिरता हो। निर्धन क्षेत्रमा प्रायः आधारभूत संरचना शिक्षा र स्वास्थ्य सेवामा निवेश गर्नको लागि संसाधनहरूको कमी हुन्छ। यसले सीमित आर्थिक अवसरको चक्र निर्माण गर्छ, जसबाट वैश्विक स्तरमा बाजारमा भाग लिने उनीहरूको क्षमता बाधित हुन्छ। यसबाहेक व्यापक निर्धनताको अर्थ हो –उपभोक्ताको आधारभूत आवश्यकतामा कमी, जसले निर्यातमाथि निर्भर समृद्ध देशहरूमा व्यवसायबाट लाभान्वित हुनुलाई प्रभावित गर्छ।

निर्धनता भनेको भौतिक संसाधनको कमी मात्र होइन, यसमा शिक्षा, स्वास्थ्य सेवा, स्वच्छता र आर्थिक उन्नतिको अवसरसम्म अपर्याप्त पहुँच पनि सामेल हुन्छ। विश्व बैंकले अत्यधिक निर्धनता, २.१५ अमेरिकी डलरभन्दा कममा जीवनयापन गर्नु भनी परिभाषित गरेको छ। तर निर्धनताले आय सीमाभन्दा बढी शिक्षा, स्वास्थ्य र सामाजिक बहिष्कारजस्ता बहुआयामी कारकहरूलाई समेत सामेल गरेको छ। नीति आयोगका अनुसार शहरी क्षेत्रका लागि निर्धनता रेखा १,२८६ रुपियाँ प्रतिमहीना र ग्रामीण क्षेत्रका लागि १,०५९ रुपियाँ प्रतिमहीना निर्धारण गरेको छ।

स्थानीय तहमा निर्धनता विभिन्न रूपमा प्रकट हुने गर्छ–जसमा भोखमरी, अपर्याप्त अवसर, शिक्षा तथा स्वास्थ्य सेवासम्म सीमित पहुँच सामेल छ। निर्धन समुदायमा मानिसलाई रोग र कुपोषणको सामना गर्नुपर्ने हुन्छ। निर्धन परिवारका केटाकेटीहरूलाई प्रायः गुणस्तरीय शिक्षासम्म पहुँचको सामना गर्नुपर्छ जसले गर्दा पीढी–दर–पीढी निर्धनताको चक्र चलिरहन्छ। यसबाहेक निर्धनताले सामाजिक अशान्ति र अपराध जन्माउँछ जसबाट समाजमा अस्थिरता कायम हुन्छ र यसले आर्थिक विकासमा बाधा पु–याउँछ। बीमारी, कुपोषण र शिक्षाको कमीका कारण उत्पादकतामा कमीले गर्दा मानव संसाधनमा कमी आउँछ, जसबाट आर्थिक विकासको सम्भावना बाधित हुन्छ। वैश्विक परिवेशमा निर्धनताले अन्तर्राष्ट्रिय व्यापार र निवेशलाई कमजोर बनाउँछ, साथै वैश्विक आर्थिक एकीकरणको दिशामा भए गरेको प्रयासलाई समेत बाधित गर्दछ।

निर्धन मानिसहरू अत्यधिक भीड र अनुचित आवासमा रहन बाध्य हुन्छन् जहाँ सफा खानेपानी र चाहिनेजति स्वच्छता हुँदैन। यसबाट रोगको प्रसार हुन सक्छ र वर्तमान स्वास्थ्य अवस्थामा समेत वृद्धि हुन जान्छ। उच्च घरभाडाले धेरैजसो परिवार एउटै कोठामा बस्न बाध्य हुन्छन्, जसले गर्दा उनीहरूको गोपनीयता सीमित हुन जान्छ। निर्धनताले सामाजिक असमानतालाई बढावा दिन्छ। समुदायहरूबीच आक्रोश र अशान्ति बढाउँछ। केही मामिलामा यसले पलायन गर्न प्रेरित गर्दछ। यसको प्रभाव क्षेत्रीय स्थिरता र विश्वमाथि पर्दछ। उदाहरणका लागि अफगानिस्तान जहाँ २८.८ मिलियन मानिसलाई तत्काल सहायताको आवश्यकता छ।

संयुक्त राष्ट्र विकास कार्यक्रमद्वारा सन् २०१९ मा गरिएको एक अध्ययनले निर्धनता तथा हिंसक सङ््घर्षबीच एक प्रकारको सम्बन्ध पाइएको छ। यस प्रकारको अस्थिरताले अर्थ व्यवस्था र निवेश बाधित हुन्छ। यसले मानिसलाई पलायन गर्न बाध्य बनाउँछ जसबाट शरणार्थी सङ्कट उत्पन्न हुन्छ, जुन विकसित देशरूमाथि बोझ बन्न पुग्छ। उदाहरणको लागि सिरियाई गृहयुद्ध, जहाँ सामाजिक असमानता र निर्धनताबाट प्रेरित भएर युरोपमा शरणार्थी बन्न पुगे जसबाट युरोपको सामाजिक सेवा तथा सुरक्षामाथि दबाब बढ्यो।

नेपालको ग्रामीण र हिमाली समुदायका मनिसहरू अपर्याप्त स्वास्थ्य सेवासम्बन्धी समस्याको सामना गरिरहेका छन्। स्वास्थ्य सेवामाथि सार्वजनिक व्यय सीमित छ र निजी स्वास्थ्य सेवा मुख्य रूपले शहरी क्षेत्रमा मात्र कार्य गर्दछ। ग्रामीण क्षेत्रका मानिसहरूले स्वास्थ्य सेवा पाउन प्रायः लामो दूरी तय गर्नुपर्ने हुन्छ। ग्रामीण क्षेत्रले अपर्याप्त र योग्य चिकित्सकहरूको अभावको सामना गरिरहेका छन्। निर्धनताले प्रत्यक्षरूपमा स्वास्थ्यसम्म पहुँचमा बाधा उत्पन्न गर्छ। अर्कोतिर स्वास्थ्य बीमाले बढी आबादीलाई समेट्दैन र अधिकांश खर्च खल्तीबाट वा ऋणको माध्यमले गरिन्छ। यसर्थ त्यहाँ शिशु मृत्यु दर, कुपोषण, मातृ मृत्यु दर, कम टीकाकरण दर र सानै उमेरमा मृत्यु दर उच्च रहेको छ।

निर्धनता र पर्यावरण विनाश एक अर्कासँग सम्बन्धित छन्, जसले परिस्थिति र अभावको दुष्चक्र तयार गर्छन्। निर्धन समुदाय प्रायः आफ्नो आजीविकाको लागि प्राकृतिक संसाधनमा निर्भर रहन्छ जसबाट वन फडानी र पर्यावरणको धेरै शोषण हुने गरेको छ। यसबाहेक अपर्याप्त आधारभूत संरचना र स्वास्थ्य सुविधाहरू प्रदूषण र पर्यावरणीय स्वास्थ्यसम्बन्धी खतरामा योगदान गर्छन्, जसबाट कमजोर आबादीमाथि दायित्व बढेर जान्छ। अर्कोतिर वैश्वीकरणले आर्थिक अन्तर्निर्भतालाई तीव्र गरेको छ, जसले समृद्धि, विकासको सबै तहमा राष्ट्रको कल्याणमाथि निर्भर छ। एक क्षेत्रमा भएको आर्थिक मन्दीको प्रभाव वैश्विक बाजारमा पर्दछ।

यस चुनौतीसँग जुध्नका लागि स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा ठोस प्रयासको आवश्यकता रहेको छ। निर्धनता उन्मूलनको लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक पर्छ। संयुक्त राष्ट्रसङ्घले विकास लक्ष्य हासिल गर्न तयार गरेको रूपरेखा अनुसार सन् २०३० सम्म निर्धनता उन्मूलनको लक्ष्य लिएको छ। प्रभावी निर्धनता उन्मूलन नीतिले आफ्नो समुदायलाई स्वयं विकासमा परिवर्तन गर्न सशक्त बनाउँछ। यो गरीबीको रेखामुनि रहेका महिला, पुरुष, स्थानीय समुदाय र ग्रामीण आबादीको शक्तीकरण र निरन्तर विकासलाई बढावा दिन महत्वपूर्ण छ। शिक्षा, स्वास्थ्य र आजीविकाको अवसरमा निवेश गरेर समुदाय निर्धनताको चक्रबाट मुक्त हुन सक्छ।

“निर्धनता जहाँ भए पनि, त्यहाँको समृद्धिको लागि खतरा हुन्छ।” यसले वैश्विक समाज र अर्थ व्यवस्थाबीच गहिरो अन्तर्सम्बन्धलाई देखाउँछ। निर्धनताले मानवीय गरिमा, आर्थिक प्रगति र सामाजिक सामञ्जस्यलाई कमजोर बनाउँछ, जसले स्थानीय एवं वैश्विक दुवै स्तरमा समृद्धिको खतरा उत्पन्न हुन्छ। निर्धनतालाई सम्बोधित गर्न समग्र दृष्टिकोण आवश्यक पर्छ, जसले आर्थिक अभावदेखि सामाजिक बहिष्करण तथा पर्यावरणीय गिरावटसम्म यसको बहुआयामिक प्रभावलाई सम्बोधन गरोस्। निर्धनता उन्मूलनलाई प्राथमिता दिनु तथा अन्तर्राष्ट्रिय सहयोग बढाएर हामी सबैको लागि एउटा न्यायसङ्गत एवं समृद्ध विश्व निर्माण गर्न सक्छौं। महात्मा गाँधीका अनुसार–“निर्धनता हिंसाको सबैभन्दा निकृष्ट कारण हो। त्यसैले वैश्विक नागरिकको रूपमा हामी सबैले निर्धनतासँग मुक्त हुन र भविष्यमा पनि निरन्तर विकास बढाउन आफ्नो साझा जिम्मेवारीलाई चिन्नुपर्छ।”