पुरूषकै नागरिकता बोक्छन् पर्साका तेस्रोलिङ्गीहरू

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, परवानीपुर, २६ मङ्सिर/

पर्सामा करीब चार हजार तेस्रोलिङ्गी रहेका छन्। जसमध्ये ५०० जना मात्र खुलेर सार्वजनिकरूपमा जीवनयापन गर्छन् भने साढे तीन हजारजना अहिले पनि सार्वजनिकरूपमा खुल्न सकेका छैनन्।

तेस्रोलिङ्गीको हकअधिकारको लागि अभियान जारी राखेको सहयात्री समाज नेपाल, वीरगंजका कार्यकारी संयोजक सुरज लिम्बूका अनुसार सार्वजनिकरूपमा खुलिसकेकाले मात्र ‘म तेस्रोलिङ्गी हुँ’ भनेर पहिचानसहित अरूलाई बताउने गरेका छन् भने आफ्नो पहिचान नखोलेकाहरू लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक भए तापनि उनीहरू पुरुषकै रूपमा समाजमा बाँच्न बाध्य छन्। अध्यक्ष लिम्बूले कतिपयले आफू तेस्रोलिङ्गी भए तापनि  पुरुष भनी नागरिकता लिएका कारण विभिन्न ठाउँमा गालीगलौज र अनेक समस्या सहनुपरेको बताए।

 वीरगंज–१६ नगवाकी ममता तेस्रोलिङ्गी भएपनि विभिन्न सरकारी निकायमा आफ्नो नागरिकता पेश गर्दा झन्झट खेप्नुपरेको बताउँछिन्। उनी जन्मिदा पुरुष थिए, उनको बुबाआमाले उनको नाम महम्मद मुख्तार राखे। १०–११ वर्षको उमेरमा कक्षा ५ सम्मको पढाइ सकेपछि केटीहरूसँग खेल्ने, केटीको कपडा लगाउने, शृङ्गार गर्ने, विभिन्न नाचहरूमा केटी बनेर नाच्ने गरेपछि घर परिवारका सदस्यहरूले उनलाई छक्का, मौगा भनी हेला गर्न थाले। त्यसपछि उनी महिलाजस्तै बनेर जीवन बिताइरहेको बताउँछन्। 

लिङ्गविपरीतको अनुभूतिको आधारमा आफू तेस्रोलिङ्गी हुँ भनेर विभिन्न गैरसरकारी संस्थाहरूका कार्यक्रममा आबद्ध भएपछि थाहा पाएको र त्यसपछि उनी तेस्रोलिङ्गीकै रूपमा बाँचिरहेको बताउँछिन्। तर आफूलाई पुरुषकै नागरिकता बोक्नुपर्ने बाध्यता रहेको बताउँछिन्। उनले नागरिकता बनाउन जाँदा कपाल ठूलठूलो पालेको हेर्दा जिल्ला प्रशासन कार्यालय, पर्साको मूलगेटमा एकजना प्रहरीले यो तेस्रोलिङ्गी हो भन्दै यसको नागरिकता बन्दैन भनेर आलोचना पनि गरेको बताइन्। तर सनाखत हुने बेलामा बुबाले टोपी लगाएर फोटो खिंचाइ नागरिकता बल्लतल्ल बनाए। 

अहिले पनि बैंकमा खाता खोल्न जाँदा, नागरिकताको प्रतिलिपि लिन जाँदा, हवाइ यात्रा गर्दा बोर्डिङ पासको समयमा विभिन्न झन्झट खेप्नुपरेको उनको अनुभव छ। 

उनले भनिन्, “नागरिकता देखाउँदा पुरुष मान्छेको हो तर स्वरूप महिलाको जस्तै देखिएपछि सुरक्षाकर्मीहरूले विभिन्न झन्झट तेस्र्याउँछन्।” सरकारी काममा सर्जमिन, मुचुल्का र वडाको सिफारिशसमेत खोज्ने गरेको उनी बताउँछिन्। पहिले मतदानको लागि पुरुष र महिलाको मात्र लाइन हुने गरेकामा २०७९ सालको चुनावदेखि महिला, पुरुष र अन्य भनी लाइन बनाइएको तर आफूहरू अन्य वर्गमा लाइन लाग्न चाहे पनि कानूनीरूपमा पुरुष नै रहेको हुँदा पुरुषको लाइनमा बस्नुपरेको दुःखेसो पोख्छिन्। 

नागरिकता परिवर्तन गर्दा अन्य कानूनी जटिलता सामना गर्नुपर्ने भएकोले त्यसो नगरेको वीरगंज–२४ रानीघाटकी अर्की तेस्रोलिङ्गी सजिया बताउँछिन्। ४५ वर्षीया सजिया घरपरिवारबाट टाढा डेरा लिएर बस्छिन्। बुबाआमाको तीन छोरामध्ये कान्छा छोराको रूपमा जन्मेका राजेन्द्र सहनी १५–१६ वर्षको उमेरपछि आफू तेस्रोलिङ्गी हुँ भनेर बुझेका थिए। तेस्रोलिङ्गीहरूलाई घरपरिवारले बहिष्कार गर्ने, धनसम्पत्तिबाट वञ्चित गर्नेलगायतका समस्या खेप्नुपरेको उनीहरू बताउँछन्।

नेपाल सरकारले संविधानमा गरेको व्यवस्था अनुसार सहज प्रक्रियाबाट विपरीत अनुभूतिको आधारमा लैङ्गिक तथा अल्पसङ्ख्यक समुदायको लागि नागरिकता बनाउनुपर्ने, नियम ल्याउनुपर्ने र राज्यका अन्य हकअधिकारमा आफूहरूको सहभागिता हुनुपर्ने तेस्रोलिङ्गीहरूको माग छ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।