बहुदरमाई नपाको बेथितिविरुद्ध दुई घण्टे धर्ना

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, पोखरिया, १४ मङ्सिर/
बहुदरमाई नगरपालिकाको बेथितिविरुद्ध सचेत नागरिक समाज बहुदरमाईले शुक्रवार नगरपालिकामा दुई घण्टा धर्ना दिएको छ । विभिन्न सात बुँदे मागसहित आज बिहान १० देखि १२ बजेसम्म कार्यालयअगाडि धर्ना दिएको स्थानीय राकेश यादवले बताए ।

विगत पाँच महीनादेखि बहुदरमाई नगरपालिकाको खाता सञ्चालनमा आउन नसकेर त्यहाँको आर्थिक कारोबार ठप्प छ र कर्मचारीहरूले समेत सो अवधिदेखि तलब पाएका छैनन् ।

नगरप्रमुख सिंगासन साह र उपप्रमुख सुषमा कुशवाहाबीचको आपसी द्वन्द्वका कारण नगरपरिषद् हुन ढिला भएको थियो । हालै कात्तिक ८ गते नगरपरिषद् सम्पन्न भएपनि नगरप्रमुख साहले सोबारेमा सामान्य प्रशासन तथा सङ्घीय मामिला मन्त्रालयमा सिफारिश नगर्दा पालिकाको खाता अहिलेसम्म सञ्चालनमा नआर आर्थिक कारोबार ठप्प छ ।

प्रमुख र उपप्रमुखबीचको बहुमतको लडाइँमा बहुदरमाई नगरपालिका बेथितिको शिकार बनेको छ । सो पालिकाका पाँचवटा वडाका अध्यक्षहरूले तालाबन्दी जारी राखेका छन् भने शिक्षकहरूले मङ्सिर ९ गतेदेखि अध्यापन ठप्प पारेका छन् ।

आज सचेत नागरिकहरूले कर्मचारीहरूको तलब तुरुन्तै भुक्तानी गर, किसानलाई आवश्यक सुविधाहरू मलखाद, बीउ, कीटनाशक औषधिको व्यवस्थाका लागि बजेट चलायमान गर, विद्यार्थीहरूको दिवाखाजा सुचारु गर, नगरपरिषद्बाट पारित बजेटहरू पुनः संशोधन गर, सामाजिक सुरक्षा भत्ता समयमैं भुक्तानी गर, स्वास्थ्य संस्थामा आवश्यक औषधिहरू तुरुन्तै व्यवस्था गर र सबै वडा कार्यालय र विद्यालयहरूको खर्च व्यवस्थापन गरी सुचारु गर जस्ता सात सूत्रीय मागसहित दुई घण्टा धर्ना दिएका थिए ।

पर्सा जिल्लाका १४ वटा पालिकामध्ये बहुदरमाई नपाको मात्र अहिलेसम्म खाता सञ्चालन हुन सकेको छैन ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।