प्रस, निजगढ, १४ मङ्सिर/
निजगढ नगरपालिका–७ स्थित जनज्योति सामुदायिक वन उपभोक्ता समूहको घाटगड्डीबाट नौ थान सालको गोलिया चोरी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् ।
वन समूहको पूर्वतर्फ रहेको विद्युुतीय हाइटेन्सन प्रसारण लाइनमुनि रहेको घाटगड्डीमा सुुरक्षित तवरले राखिएको सालको गोलिया चोर–तस्कर समूहले ना.२च ९३१९ नम्बरको बलेरो जीपमा लोड गरी पूर्व–पश्चिम महेन्द्र राजमार्गको रौतहटतर्फ लैजाँदै गर्दा डिभिजन वन कार्यालय, रौतहटको वनगस्ती टोलीले जीप चालक जीतेन्द्र चौधरीलाई पक्राउ गरी चोरिएको गोलिया बरामद गरेको हो ।
गत वर्ष कटान गरी उपभोक्तालाई बिक्रीका लागि घाटगड्डीमा राखिएको नम्बरिङ गरिएका सालको गोलियामध्ये गत बुधवार राति ८५.७० क्यूफिट परिमाणको नौ थान चोरी भएको र हिजो बिहान ४ बजे रौतहटबाट बरामद गरिएको जनज्योति वन समूहका अध्यक्ष खड्गबहादुुर मोक्तानले बताए ।
वनगस्ती टोलीलाई सो जीप शङ्कास्पद लागेसँगै चेकजाँच गर्दा चोरिएका गोलिया बरामद भएको डिभिजन वन कार्यालय, रौतहटका प्रमुख हेमन्त साहले बताए । झट्ट हेर्दा चोरी–तस्करी गरेर ल्याएको जस्तो नदेखिनेगरी व्यवस्थितरूपमा जीपमा राखेर अन्यत्र लैजान प्रयास गरिएको उनले बताए । यस विषयमा थप अनुसन्धान भइरहेको उनले बताए ।
जीपको प्रयोग गरी सुुरक्षितरूपमा राखिएको घाटगड्डीबाट नै वन पैदावर चोरी–तस्करी गर्ने गिरोह पेशेवर र ठूलो सञ्जाल भएको हुन सक्ने डिभिजन वन कार्यालय, रौतहटले अनुमान गरेको छ ।