लोकपर्वको सर्वश्रेष्ठ दिवस

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

• सञ्जय साह मित्र
हाम्रो संस्कृतिमा अनेक पर्व छन् तर संस्कृतिका दुई आधार मुख्य छन् । पहिलो आधार लोक हो भने दोस्रो शास्त्र । यसैले पर्व पनि दुई किसिमका हुन्छन् ः लोक र शास्त्रीय । लोकपर्वबारे कुनै शास्त्रमा स्पष्ट व्याख्या तथा विश्लेषण गरिएको पाइँदैन तर शास्त्रीय पर्वहरूबारे विधि–विधान र अन्य कर्म निर्धारण गरिएका हुन्छन् । लोकपर्व वा लोकसंस्कृति सामाजिक सम्पत्ति हो तर शास्त्रसम्मत संस्कृतिलाई शास्त्रीय सम्पत्ति मानिन्छ । दुवैको महŒव छ भन्ने कुरामा दुई मत छैन तर शास्त्रभन्दा पुरानो लोक हुनुपर्छ ।

शास्त्रको उत्पत्ति मानिसमा शिक्षा वा लेख्न सक्ने क्षमताको विकास भएपछि भएको हुनुपर्छ भने शिक्षाको विकास हुनुभन्दा पहिले पनि संस्कृति, संस्कार र मानवका विभिन्न गतिविधिहरू थिए । यसैले जानकारहरूले संस्कृतिलाई पूर्व वैदिक र उत्तर वैदिक तथा वैदिक संस्कृति भनी विभाजन गरेका छन् । पूर्व वैदिक संस्कृति त्यहीं हुनुपर्छ जसको चर्चा कुनै शास्त्रमा गरिएको छैन तर शास्त्रको रचनाभन्दा निकै पहिलेदेखि समाजमा प्रचलनमा रहेको छ । वैदिक संस्कृति त्यो हो जसको चर्चा विभिन्न शास्त्रहरूजस्तै वेद, पुराण र अन्य शास्त्रहरूमा गरिएको पाइन्छ । तर समाजमा वेदको रचनापछि पनि विभिन्न संस्कृतिको प्रादुर्भाव भएको पाइन्छ जसलाई सोझै कतिपयले आगन्तुक भन्दछन् वा कतिपय आगन्तुक संस्कृति हुन् पनि । अर्थात् उत्तर वैदिक संस्कृतिमा पनि मौलिक र आगन्तुक गरी दुई प्रकारका संस्कृति रहेका छन् । जुन हाम्रै समाजको उपज हो तर कतै आधिकारिक शास्त्रमा समेट्न नसकिएको संस्कृति छ भने उत्तर वैदिक सामाजिक संस्कृति वा लोक संस्कृति हो भन्न सकिन्छ । यसै गरी हाम्रो समाजको उपज नभएर अन्य समाजबाट कुनै कारणले हाम्रो समाजमा आएको संस्कृति हो भने त्यसलाई आगन्तुक संस्कृति भन्न सकिन्छ । यद्यपि कतिपय संस्कृति चाहिं फ्युजन पनि हो अर्थात् दुई संस्कृति मिलेर बनेको ठिमाहा वा हाइब्रिड संस्कृति ।   छठलाई लोकपर्व भन्दै आइएको छ, लोकपर्व मानिंदै आएको छ । कुनै एक ठाउँमा नभएर सबैतिर यसले लोकपर्वकै मान्यता पाएको छ र सबैले लोकपर्व भनेर मान्दै आएका छन् । यसको मूल कारण यही रहेको छ कि केही दशक पहिलेसम्म यस पर्वको कुनै शास्त्रीय आधार भेटिएको थिएन र वास्तवमा अहिले पनि कुनै ठोस शास्त्रीय आधार रहेको छैन । पछिल्लो चरणमा कतिपयले यस पर्वलाई कुन शास्त्रमा कसले गरेको र कसले मानेको भनी चर्चा गर्न थालेका छन् तर त्यहाँ सूर्यको पूजा, सूर्यको उपासना तथा सूर्यको व्रत गर्ने गरेको कुरालाई आधार मानिएको छ । छठीमाईको चर्चा वा सन्दर्भ ठोसरूपमा कतै उल्लेख गरिएको पाइएको छैन । कात्तिक शुक्ल पञ्चमीको राति कसको पूजा गरिन्छ र अस्ताउँदो सूर्यको पूजा हुने षष्ठीको राति गरिने पूजा कसको हो ? यी प्रश्नको उत्तर चाहिं पाइँदैन । कतिपय शास्त्रहरूको आधारमा सूर्य र छठीमाईको नाताको विषयमा सन्दर्भ पाइन्छ वा उल्लेख गरिएको पाइन्छ तर लोकजीवनमा त्यसभन्दा पृथक तथ्य रहेको देखिन्छ ।

लोकसंस्कृति र शास्त्रीय संस्कृतिमा यही भिन्नता हुन्छ । पछिल्लो समयमा यस पर्वलाई शास्त्रीय पर्व बनाउन खोजिएको मात्र हो, तर शास्त्रीय पर्व वा संस्कृतिको विशिष्टता यो पनि हुन्छ कि यसलाई मान्न वा मनाउनको लागि पण्डित वा पुरोहितको आवश्यकता पर्दछ तर लोकसंस्कृतिको निर्वहन सामूहिकता नै मुख्य आधार हुन्छ । छठ पर्वमा पनि सामूहिता नै प्रधान हो । छठ पर्वमा कुनै पण्डित वा पुरोहितको वा विधिविधानको आवश्यकता पर्दैन । व्रतालु नै सर्वोपरि हुने हो र व्रतालुले आपूmभन्दा जान्ने व्रतालुबाट सिक्दै जाने हो । सम्भवतः यसै कारणले हुनुपर्छ, छठपर्वको आरम्भ गर्दा अर्थात् कुनै व्रतालु महिलाले पहिलोपटक व्रतारम्भ माइतीबाट गर्ने चलन छ । छठपर्वको नियम वा परम्परागत विधान आमाबाटै सिक्ने परम्परा रहेको छ । अनि आप्mनो घरमा आएर व्रत गर्दा सासूआमा वा टोलका जो वरिष्ठ ज्येष्ठ महिला नागरिक हुन्छन्, उनैबाट मार्गदर्शन प्राप्त हुन्छ ।

लोकपर्वको अर्को आधार यो पनि हुन्छ कि स्थानीयताको महŒव बढी हुन्छ । छठ पर्वमा प्रयोग हुने सामग्रीहरूमा स्थानीय वस्तुकै आधिक्य रहन्छ । कृषि उत्पादनहरूकै प्राधान्य रहन्छ । उदाहरणको लागि साठी धान वा सरिहन धान र गहुँ यसमा मुख्य खाद्यान्न हुन् । यी दुवैको उपयोग हुन्छ । यसैगरी गाईको गोबरले आँगन लिप्ने चलन छ । सम्भव भएसम्म गाईकै दूधको खीर बनाउने नभए भैंसीको दूध भए पनि हुन्छ । यसैगरी केराको थम्बा, पाकेको केरा, काँचो केरा, केराको पात सबै यसमा उपयोगी हुन्छन् । आँपको दाउरा, आँपकै दतिउन तथा कतै कतै आँपको पातको पनि उपयोग गरिन्छ । अदुवा, निबुआ, मुला र उखुजस्ता यस मौसममा पाइने कृषि उपजको उपयोग अनादिकालदेखि हुँदै आएको छ ।

छठ पर्वमा अत्यावश्यक सामग्रीमा अक्षता र केराउ (अFकुरी) पनि हुन् । हुमाद अर्थात् धुप पनि चाहिन्छ नै । यसरी धुपबाहेक सबै मुख्य सामग्री स्थानीय कृषि उत्पादन वा उपज हुन् । पछिल्लो समयमा पानको पात, नरिवल, स्याउ, सुन्तला जस्ता फलपूmल पनि उपयोग हुन थालेका छन् । अन्य आयातित फलको पनि उपयोग बढ्दै जाला । साथै ठाउँ, परिवेश र समाज परिवर्तन हुँदै जाँदा, अनि समय नै बदलिंदै जाँदा कालान्तरमा अन्य सामग्रीको उपयोग पनि बढ्दै जाला । स्थानीय फलको उपलब्धता र सहजता नै यसको स्वीकारोक्ति पनि हो । लोकमान्यता भएको पर्वमा लोकले जे मान्यता दिन्छ, त्यो मान्य हुने त हो । यसकारण यस पर्वको विस्तार हुँदै गएपछि यसले विभिन्न ठाउँको स्थानीयतालाई पनि आपूmमा समाहित गर्दै लगेको छ । समय अनि भूगोलको फरकले गर्दा यसमा अरू पनि थपघट हुँदै जाला भन्ने कुरामा दुईमत छैन ।

पहिले छठ पर्वको समयको लागि चङ्ग उडाउनु एउटा अङ्गको रूपमा लिइन्थ्यो तर अहिले पटाकामा सीमित हुँदै गएको छ र पछिल्ला केही वर्षमा तराई मधेसका गाउँमा पनि बाहिरबाट जागरण कार्यक्रम बोलाउन थालिएको छ जसले स्थानीय नाटकको संस्कृतिलाई विस्थापित गरिरहेको छ ।

हरेक ठाउँका आप्mना लोकसंस्कृति छन् । विभिन्न जात र धर्म तथा समुदाय र सम्प्रदायका अनेक लोकसंस्कृति हुन्छन् । लोकसंस्कृतिको अध्ययन गर्नेले सबैभन्दा बढी लोकपर्वकै अध्ययन गरेको पाइन्छ । लोकसंस्कृतिको एउटा महŒवपूर्ण अङ्ग लोकपर्व नै हो । लोकपर्व जसले बजारसित आपूmलाई समायोजन गर्न सक्दैन, हरेक ठाउँमा स्थानीयतासित घुलमिल गर्न सक्दैन, लोप हुने खतरा रहन्छ । छठपर्वको उद्भवभूमिमा मनाइने जुडशीतल र गङ्गा दशहराजस्ता अनेक लोकपर्व र जटजटिन, सामाचकवा, परातीजस्ता अनेक संस्कृति लोप भइसके वा लोपोन्मुख छन् । छठपर्व भने आस्थासित पनि जोडिएको हुनाले यसको निरन्तर विस्तार भइरहेको छ । यसको विस्तारको सीमा असीम भइसकेको छ ।

जाति, समुदाय, सम्प्रदाय तथा धर्मको सीमालाई नाघेर यस पर्वले पर्वत र सागरको सीमालाई पनि सजिलै नाघेको छ । अत्यन्त अल्पविकसितदेखि अत्यन्त विकसित देशहरूमा पनि त्यहींका रैथानेहरूलाई समेटर यतैबाट गएकाहरूले यो पर्व मनाउने गरेका छन्, मनाउन थालेका छन् । आस्थाको सम्मान गर्नेहरूले यस पर्वलाई सम्मान गरेका छन् । वास्तवमा लोकआस्थाको कुनै सीमा हुँदैन । लोकमा आस्थाको अपारतालाई ग्रहण गर्दै यस पर्वले आपूmलाई विश्वको सर्वश्रेष्ठ साबित गरिसकेको छ । सर्वश्रेष्ठ चाहिं आस्था र श्रद्धाको दृष्टिकोणले भनिएको होइन, विस्तारको दृष्टिकोणले हो । सबै धर्म, संस्कृति तथा पर्वको सम्मान गर्नुपर्छ । जसरी यस पर्वले सबै किसिमको सीमा नाघेर शान्ति र समृद्धिको सन्देश दिएको छ, जसरी सबै धर्मावलम्बीलाई मान्न प्रेरित गरेको छ, जसरी यसमा कुनै किसिमको हत्या र हिंसालाई कतै पनि स्थान दिइन्न, जसरी यो पूर्णतः कृषिमा आश्रित पर्व हो र त्यसरी नै यसले महिलाको सम्मान गरेको छ, यस दृष्टिले यो सर्वश्रेष्ठ पर्व हो ।

हाम्रो परिवेशमा यिनै कारणले छठलाई महालोकपर्व वा महापर्व पनि मान्ने गरिएको छ । शुद्धता, पवित्रता तथा माङ्गलिकताको भाव प्रवाहित हुने यस पर्वले सामाजिक एकता तथा सामूहिकताको जुन मान्यतालाई आधार मानेको छ, यसलाई आजको परिवेशमा जीवनको अन्य क्षेत्रमा पनि विस्तार गर्नुपरेको छ ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस