देशलाई बाहिरकाले त भ्रष्ट र पङ्गु भने–भने, अब आप्mनै देशवासीलाई पनि यस देशमा सत्तामा बस्नेहरूलाई सतीको श्राप लाग्ने गरेकै हो भन्ने विश्वास बढ्न थालेको छ । राजनीतिका सञ्चालकहरू नै भ्रष्ट भएपछि देशले निकास पाउन गा-हो हुन्छ । राजनीतिमा आरोप–प्रत्यारोप चल्नु स्वाभाविक हो । कसैले आरोप लगाउँदैमा कोही दोषी हुँदैन, कसैले प्रत्यारोप गर्दैमा ऊ चोखो छ भन्न सकिंदैन । हामीकहाँ त एउटा के मनोविज्ञान हावी छ भने आपूmलाई निर्दोष देखाउन अरूलाई दोषी देखाऊ । आजसम्म नेपालको राजनीति यसै मनोविज्ञानले चलिरहेको छ । खासगरी राजनीतिक दलका टाउकेहरू नै तारन्तार भ्रष्टाचारमा मुछिनु, उनका जति निकट जो छन्, उनीहरूमाथि उत्तिकै भ्रष्टाचारको बाछिटा पर्नु स्वाभाविक भए पनि तिनका चलखेल बाछिटा पर्नुभन्दा कहीं बढी माथिको देखिने गरेको छ । राजनीति नै भ्रष्ट भएपछि कर्मचारीहरू चोखो हुन सक्दैनन् । कर्मचारीका पनि कुरा छाडौं, मन्त्रीहरू त भ्रष्ट भए भए, उनीहरू अधिकारप्राप्त छन्, तर उनीहरूकै अधिकारको छत्रछाया तथा प्रत्याभूतिमा छोरा, स्वास्नी, भाइ–भतिजाहरूद्वारा एकसेएक कारनामा हुनु यताका दिनमा गनेर साध्य नहुने अवस्था बनेको छ ।
भर्खरै रवि लामिछानेमाथि छानबीन हुँदैछ । भर्खर जन्मेको पार्टी, भर्खर नेतृत्वमा आएका एकजना युवा, जसको प्रखर भाषण, सुझबुझले देशले गति लेला भन्ने विश्वास जागेको थियो, कठालो नै समातिनेगरी भ्रष्ट आचरणका पात्र बन्दैछन् । नेपाली जनताले रैथाने राजनीतिक पार्टीहरूबाट कुनै उपलब्धि हात नलाग्ने देखेर नै यस नयाँ युवाको नेतृत्वमा गठित पार्टीमाथि विश्वास व्यक्त गरेको थियो । आँखा चिम्लेर साथ दिएको थियो । तर दूधले धोएको नभएर उनीमाथि लागेको आरोपले उनलाई भ्रष्टाचारको आहालमा चुर्लुम्म डुबाएको देखिन थालेको छ । आज देशमा देखा परेका युवा राजनीतिज्ञहरू, जसले भोलि केही गर्लान् भन्ने आस जागेको थियो, ती एकएक गरेर आरोपहरूको जालोले बेरिंदै गएका छन् । कसैलाई बाख्रा चोरको आरोप लगाइन्छ, कसैमाथि अशोभनीय कृत्यको दोष लगाइन्छ । राजनीतिको पुरानो पुस्ताले त ‘जोगी बन्नका लागि राजनीति गरेको होइन’ भन्ने मान्यता नै बनाइसकेको छ । आजको सङ्क्रमणकालीन राजनीतिक परिवेशले उनीहरूलाई नै घरीघरी सत्तामा पुग्ने भ¥याङ उपलब्ध गराइराखेको छ । र सत्तामा रहुन्जेल तिनका दोष निखन्ने काम भइरहन्छ । सबल के नहीं कछु दोष गोसाईं भन्ने कुरा त गोस्वामी तुलसी दासले भनि नै दिएका छन् । ती जबसम्म सबल रहन्छन्, दोषबाट मुक्त भइरहन्छन् । त्यसैले सबल बन्नका लागि सबै नैतिकतालाई तिलाञ्जली दिएर सत्ता परिवर्तन गरिरहन्छन् । दोष कोट्याउने सत्ताबाट बाहिर हुत्याइन्छ र उसमाथि दागा राखिन्छ ।
भ्रष्टाचारको परिघटनाहरूमा रवि लामिछाने सानो माछा हुन् । जालमा फसे । भ्रष्टाचारको मगरमच्छलाई समात्ने बलियो जाल बन्न सकेको छैन । मगरमच्छको चालामाला र व्यवहार बुझेको नयाँ पुस्ताले नै यस्तो जाल बनाउन सक्छ । त्यसैले नेपाली मनले भन्छ, युवा राजनीतिज्ञहरूमाथि लागेका सबै आरोप गलत साबित होउन् । कोही त चोखो छ भन्ने कुराले देशको मान बढ्छ, जनताको हौसला बुलन्द हुन्छ । कुरा रवि लामिछानेको होइन, कुरा हो, यो विश्वासको कि, कोही त छ जो साँच्चीकै देशको लागि राजनीति गरिरहेको छ । रवि लामिछाने नहुन् अरू कोही होस्, व्यक्तिले फरक पर्दैन, फरक पर्ने व्यक्तित्वले हो ।