प्रस, वीरगंज, १९ कात्तिक/
बारा प्रहरीले कात्तिक १५ गते पत्रकार सम्मेलन गरेर जिल्लामा भएका दुईवटा हत्याको अनुसन्धान पूरा भएको जनाएको छ ।
बारा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्ष्Fक प्रकाश सापकोटाले महागढीमाई नगरपालिका–१ सेमरा तेगछिया नैकाटोला बस्ने ५५ वर्षीय श्रीनारायण यादवको कात्तिक १० गते ७ः३० बजे भएको हत्यामा संलग्न व्यक्तिलाई पक्राउ गरिएको र निजले जग्गासम्बन्धी विवादमा हत्या गरेको पुष्टि गरेको बताए ।
उनले घटनाकै दिन ६४ वर्षीय सोथाई चौधरीलाई निजको घरबाटै पक्राउ गरिएको र अनुसन्धान गर्दा उनले धारिलो हतियार टाउकोमा प्रहार गरेर यादवको हत्या गरेको पुष्टि भएको बताए । उनले जग्गासम्बन्धी रिसइबी र विवादमा सो हत्या गरिएको चौधरीले स्विकारेको र कात्तिक १५ गते हत्यामा प्रयोग भएको धारिलो हतियार झाडीबाट बरामद भएको बताए ।
यसैगरी, वीरगंज महानगरपालिका–३ छपकैया निवासी वीरेन्द्र सोनारको बारा, परसौनी गाउँपालिका–१ त्रिवेणीस्थित गण्डक नहरमा कात्तिक १ गते फेला परेको शवको सन्दर्भमा पनि घटनाका अभियुक्तहरू पक्राउ परेका र हत्याकाण्डको रहस्यबाट पर्दा हटेको बताए । प्रवक्ता सापकोटाले २६ वर्षीय सोनारलाई निजकी पत्नी मनीषा सोनारसँग अनैतिक सम्बन्ध स्थापित गरेका बहुदरमाई नगरपालिका–८ निवासी २८ वर्षीय विजयसाह कलवारले असोज २७ गते बेलुकी ९ः३० बजे गम्छाले पछाडिबाट घाँटी कसेर हत्या गरेको र शवलाई त्रिवेणीनजीक गण्डक नहरमा फालेको बयान दिएपछि हत्याको पुष्टि भएको बताए ।
उनले पत्नी मनीषालाई शव बरामद भएसँगै अनुसन्धानको लागि पक्राउ गरेको र सो क्रममा कलवारको नाम खुलेपछि उनलाई कात्तिक ७ गते कलैया उपमहानगर–१० मटिअर्वा नजीकबाट पक्राउ गरिएको र उनले सो हत्या गरेको स्वीकार गरेको दाबी गरेका छन् ।
कलवारले सोनारलाई असोज २७ गते दिउँसो मेला हेर्न भनेर आपूm साथ लगेका र हत्या गरी घर फर्केका थिए ।