लापरवाहीको परिणाम

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

बारा जिल्लाको जीतपुरसिमरास्थित रामवन मुहान रहेको श्रीसिया नदी वीरगंज महानगरपालिका–३२ परवानीपुरस्थित सिद्धि टेक्सटाइल्सदेखि प्रदूषित हुँदै आएको देखिन्छ । सिद्धि टेक्सटाइल्स अघिको श्रीसिया नदी अहिलेसम्म पनि निश्चल, सफा बगिरहेको छ । सिद्धि टेक्सटाइल्सपछि विभिन्न उद्योगहरूले प्रदूषित पानी बगाउनाले श्रीसिया थप प्रदूषित पारेको छ । जीतपुरसिमरा, परवानीपुर र वीरगंज महानगरपालिकामा नदीसँग जोडिएका २८ उद्योगहरूबाट श्रीसिया नदी प्रदूषित भएको महानगरको पछिल्लो स्थलगत अध्ययन प्रतिवेदनबाट देखिएको कुरा हो । तीनवटा पालिकामा रहेका ६३ वटा उद्योगले श्रीसिया नदी प्रदूषित पार्ने कार्य गरेको महानगरपालिकाको वातावरण महाशाखाले तयार गरेको शुरुको सर्वेमा देखिएको तथ्याङ्क हो । अहिले सो महाशाखाले गरेको पछिल्लो अनुगमनहरूमा भने जीतपुरसिमरा, परवानीपुर गापामातहतमा २० र वीरगंज महानगरपालिका मातहतका आठ उद्योग प्रत्यक्षरूपमा श्रीसिया नदीलाई प्रदूषित पार्ने कार्यमा संलग्न देखिएका छन् ।

श्रीसिया नदीको इतिहास हेर्दा चार दशक अघिसम्म स्वच्छ थियो । मानिसहरू लुगा धुने, भाडा माझ्ने, नुहाउने, खोला आसपासका बस्तीका केही मानिस सोही खोलाको पानी पिउने, वस्तुहरूको लागि पनि नुहाउने थलो थियो भने उत्तिखेर श्रीसियामा जलचरहरू पनि हुने गर्थे । पुरुषहरू जनै पूर्णिमा र महिलाहरू श्रीपञ्चमीलगायत पर्वहरूमा श्रीसिया नदीमा पूजापाठलगायत कार्यहरू गर्दै आएका थिए । नदी प्रदूषणको शिकार हुँदै गएपछि अहिले तीन दशकदेखि छठपूजा मात्र गरिन्छ त्यो पनि सकसपूर्ण तरीकाले । श्रीसिया नदीको पानी प्रदूषित भएपछि अहिले सिंचाइका लागि पनि पानीको प्रयोग हुन छाडेको छ । अति दुर्गन्धित अवस्थामा श्रीसिया नदी पुगेपछि त्यसको प्रयोग आम मानिसहरूको दैनिकीबाट टाढिएर अहिले उद्योगहरूको रसायनयुक्त पानी विसर्जन गर्ने थलो बनेको छ । श्रीसिया नदीमा प्रदूषणजन्य गतिविधि नियन्त्रणका लागि बचाउ अभियान सञ्चालन भएको पनि लामै समय भयो । विभिन्न सङ्घसंस्थाहरूले नदीको पानी शुद्धीकरण गर्न अध्ययन अनुसन्धान र सुझावसहितको प्रतिवेदनहरू बुझाउँदै आएका छन् । तर पनि श्रीसिया प्रदूषणमुक्त हुन सकेको भने छैन । आधा दशक अघि श्रीसिया नदीको किनारा वीरगंज महानगरपालिका कार्यालयको लागि अघोषित डम्पिङ साइट बनेको थियो ।

व्यवस्थित डम्पिङ साइट निर्माणपूर्व महानगरका फोहरहरू श्रीसियाको किनारामा विसर्जन गरिन्थ्यो । डम्पिङ साइट बनेपछि अहिले श्रीसिया यो वेदनाबाट मुक्त भएको छ । अन्तर्राष्ट्रिय नियमको बर्खिलाप सो काम भएकोले रक्सौलमा श्रीसिया नदी बचाऊ आन्दोलन अन्तर्गत धर्ना, प्रदर्शन, ज्ञापन दिनेजस्ता कार्यहरू पनि भए उति बेला । सारांशमा श्रीसिया नदी प्रदूषणमुक्त गर्नका लागि उद्योगीहरूले मात्र इमानदारी देखाउन जरुरी छ । सरकारले उद्योगीहरूलाई तह लगाउन नसकेको अवस्थामा श्रीसिया नदी प्रदूषणको नाममा मन्त्रालय र विभागको लागि कमाइखाने भाँडो बनेको छ । उद्योग स्थापनाकै क्रममा पानी प्रशोधन केन्द्र जडान गर्नुपर्ने प्रावधान छ । रसायनयुक्त पानी विसर्जन गर्ने उद्योगहरूले मात्र पानी प्रशोधन केन्द्र स्थापना गरेर श्रीसियामा फाल्ने गर्दा समस्या समाधान हुन्छ । अनिवार्यरूपमा गरिनुपर्ने यो काम अहिलेसम्म नगरिंदा समस्या देखिएको हो । द्रव्यलोलुप उद्योगीहरूले आप्mनो मात्र लाभ हेर्ने र अरुलाई प्रदूषणबाट त्रस्त पार्ने बन्द हुनुपर्छ ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस