धन्वन्तरि जयन्ती

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

• डा रमेश मिश्र

कात्तिक कृष्ण पक्ष त्रयोदशीको दिन आयुर्वेदका प्रवर्तक भगवान् धन्वन्तरिको जयन्ती प्रत्येक वर्ष आयुर्वेदका चिकित्सक, आयुर्वेद स्वास्थ्यकर्मी तथा आयुर्वेद चिकित्सा पद्धतिसँग जोडिएका सङ्घसंस्था, अस्पताल, वैद्यखानामा भगवान् धन्वन्तरिको पूजा गरिन्छ र आफ्नो र आफ्ना सबैको दीर्घायु एवं सुस्वास्थ्यको कामना गरिन्छ ।

यस दिनलाई यस वर्ष राष्ट्रिय आरोग्य दिवस एवं धन्वन्तरि जयन्तीको लागि नारा ‘स्वस्थ जीवनमा साŒिवक आहारः नागरिक आरोग्यताको मजबूत आधार’ तय गरिएको छ । यस दिनलाई आयुर्वेदसँग जोडिएका व्यक्ति र सङ्घसंस्थाले राष्ट्रिय आरोग्य दिवसको रूपमा मनाउँछन् । वास्तवमा विश्वमा नै यसै दिनलाई विश्व आरोग्य दिवसको रूपमा मान्नुपर्छ । किनकि प्रत्यक्ष वा अप्रत्यक्षरूपमा अधिकांश देशमा यस दिनलाई धनतेरसको रूपमा मनाइन्छ । जुन धन्वन्तरि तेरसको अपभ्रंश शब्द हो । यस दिन घर–घरमा सरसफाइ गरिन्छ । नयाँ भाँडाकँुडा किन्ने प्रचलन छ । धन्वन्तरि आयुर्वेदका प्रवर्तक हुन्, उनको उत्पत्तिबारे विभिन्न मतहरू छन् । आयुर्वेदका प्रथम प्रचारक र प्रसारक आदिदेव भगवान् धन्वन्तरि निर्विवादरूपले यसको प्रवर्तकको रूपमा प्रतिष्ठित छन् । ऐतिहासिक तथ्यहरूमा दृष्टिगत गर्दा धन्वन्तरि विषयक प्राप्त जानकारी अनुसार धन्वन्तरि नामको सर्वप्रथम उल्लेख वैदिककालमा समुद्र मन्थनको बेला हातमा अमृत कलश धारण गरेका देवताको रूपमा समुद्रबाट उत्पत्ति भएको वर्णन पाइन्छ । हातमा अमृत कलश धारण गरेको कारण उनलाई पियुषपाणि धन्वन्तरि पनि भनिन्छ । यसको अतिरिक्त प्राचीन ग्रन्थहरूबाट प्राप्त विवरणको अनुसार काशीका राजाहरूको वंश परम्परामा राजा दीर्घतपा अथवा राजाधनको रूपमा पनि धन्वन्तरि सिद्ध हुन्छन् । विभिन्न पुराणहरू जस्तै भागवत् पुराण, हरिवंश पुराण एवं ब्रह्म पुराणमा वर्णन गरिएका कथाहरू र प्राचीन ग्रन्थहरूमा वर्णित चर्चित चिकित्सा विशेषज्ञहरूमा मुख्यतः उल्लिखित वर्णित चर्चित चिकित्सा विशेषज्ञहरूमा मुख्यतः उल्लिखित धन/धन्वन्तरि, काशीराज, दिवोदास, अश्विनी कुमार, नकुल र सहदेव । यी चिकित्सा विशेषज्ञहरूमा प्रथम तीनको अत्यधिक चर्चा पाइन्छ । पुराणहरूको अनुसार काशीराज धन्वले पुत्रप्राप्तिको लागि तप गरे र दीर्घतपा उनलाई भनियो । आफ्नो यी दीर्घकालीन तपस्याको परिणामस्वरूप दीर्घतपाले समस्त रोगको नाश गर्ने देव धन्वन्तरिलाई पुत्रको रूपमा प्राप्त गरे । दीर्घतपाको पुत्र धन्वन्तरि आयुर्वेदका प्रवर्तक, यज्ञ भागको अधिकारी एवं विष्णुको अवतार थिए । उनलाई अनिमा, महिमासहित आठवटै सिद्धि प्राप्त थियो तथा उनले स्मरण मात्रले रोगहरूको नाश हुन्थ्यो ।

हातमा वैदिक हिन्दू दर्शनका चार उपवेदमध्येका आयुर्वेदको पुस्तक र जडीबुटी लिएका धन्वन्तरिलाई आयुर्वेदका प्रवर्तक मानिन्छ ।

आयुर्वेद एउटा जीवन विज्ञान हो । व्यक्ति सम्पूर्ण जीवनकालमा कसरी स्वस्थ रहून् र कुनै कारणले रोग लाग्यो भने उसको उपचारको सम्पूर्ण व्यवस्था छ ।

हिता हितं सुखम् दुःखम आयुस्तस्य हिताहितम् ।
मानंच तंत्रोक्तम आयुर्वेद सः उच्चयते ।।

अर्थात् आयु हित, आयु अहित, सुख आयु र दुःख आयु चार प्रकारका हुन्छन् र यसको मान र स्वरूपको वर्णन जुन शास्त्रमा गरिएको हुन्छ, त्यो आयुर्वेद हो ।

स्वस्थस्य स्वास्थ्य रक्षणम्, आतुरस्य विकार प्रशमनम् च ।

अर्थात् आयुर्वेदको प्रयोजन हो स्वस्थ व्यक्तिको स्वास्थ्यको रक्षा र कुनै कारणले रोग लाग्यो भने रोगको उपचार ।

आज त्यही धन्वन्तरि भगवान्को पूजा आराधना गरी राखिएको छ । र आयुर्वेदमा दिनको विशेष महŒव छ ।

आयुर्वेद एउटा जीवन विज्ञान हो । आयुर्वेदमा व्यक्ति कसरी जीवनभरि स्वस्थ रहून् भनी सम्पूर्ण व्यवस्था गरिएको छ । आयुर्वेदको ध्येय अनुसार शरीरमा रोगको प्रतीति नहुनु हो, यतिलाई मात्र पूर्ण स्वस्थ मानिंदैन । अनेक प्राणीहरूको शरीरमा रोग नभए पनि बल, विचार, शक्ति र कर्तव्य शक्तिमा न्यूनता, विषय सेवनको अत्यन्त वासना तथा लोभ, ईष्र्या, क्रोध, क्रूरता, शत्रुता आदि दुष्य संस्कारहरूको प्रबलता दृष्टिगोचर हुन्छ । जसले ती व्यक्तिहरूको बुद्धि, मन र इन्द्रियहरूमा प्रसन्नता रहँदैन । अतः आचार्यहरूले ती व्यक्तिहरूलाई अस्वस्थ नै मान्छन् । अतः अहिले विश्वमा आयुर्वेद अनुसार धेरैभन्दा धेरै अस्वस्थ व्यक्तिहरूको वृद्धि भइराखेको छ ।

सम दोष समाग्निश्च सम धातु मल क्रियाः ।
प्रसन्न आत्मेन्द्रिय मन स्वस्थ इत्यभिधीयते ।।

अर्थात् जसको वातादि दोष (वात, पित, कफ) समअवस्थामा छ, अग्नि (जठाराग्नि) समअवस्थामा छ, धातुहरू र मलहरूको काम समुचित भइराखेको छ एवं जसको आत्मा, मन र इन्द्रियहरू प्रसन्न हुन्छन्, त्यस मनुष्यलाई स्वस्थ भनिन्छ ।

त्यस्तै, आधुनिक चिकित्सा विज्ञानमा पनि WHO ले भनेको छ Health is a state of complete physical, mental and social well being and not a merely the absence of disease of
infirmity.

कल्पना गरौं, प्राचीन चिकित्सा पद्धति आयुर्वेद र आधुनिक चिकित्सा पद्धतिले स्वास्थ्यमा गरेको परिभाषा अनुसार हामीमध्ये विश्वमा कतिजना स्वस्थ छौं ।

माथि उल्लिखित परिभाषा अनुसार पूर्ण स्वस्थतालाई प्राप्त गर्ने आधिकारिक व्यक्ति विश्वमा धेरै कम छन् । तथापि लक्ष्य सधैं पूर्ण नै राख्नुपर्छ । यस लक्ष्यलाई प्राप्त गर्न शरीर निरोग हुनुपर्छ । पूर्ण स्वस्थताको लागि नै विश्वमा आयुर्वेदको प्रादुर्भाव भयो । आयुर्वेदको मुख्य प्रयोजन नै स्वस्थ व्यक्तिको स्वास्थ्यको रक्षा गर्नु हो ।

प्रयोजनं चास्य स्वस्थस्य स्वास्थ्य रक्षणम् आतुरस्य विकार प्रशमनम् च ।

अतः आयुर्वेदमा स्वस्थ व्यक्तिको स्वास्थ्यको रक्षा र रोगी व्यक्तिको रोगको सम्पूर्ण उपचारको व्यवस्था गरिएको छ ।

स्वस्थ व्यक्तिको स्वास्थ्यको रक्षाको लागि दिनचर्या, ऋतु चर्या, आहार (सकेसम्म साŒिवक आहार ग्रहण गर्नुपर्छ) विहार, योग, प्राणायामको व्यवस्था गरिएका छन् भने रोगलाई निर्मूल गर्न शोधन र शमनको व्यवस्था गरिएको छ । जसबाट रोग लागे रोगीको उपचार गरिन्छ ।

हाल विश्वमा रोगहरू व्यापकरूपमा फैलिरहेका छन् । एकातिर नसर्ने रोगहरू मुटुरोग, क्यान्सर, वातरोग, श्वाससम्बन्धी रोग, मधुमेह, मिर्गौला, उच्च रक्तचाप, मोटोपन, कुपोषण सम्बन्धित रोग, मानसिक रोग जस्ता रोगहरू व्यापकरूपमा फैलिराखेका छन् भने सर्ने रोगहरू पनि बेलाबेलामा महामारीका रूपमा फैलिराखेको छ । जो अहिले कोरोना भाइरसबाट कोभिड–१९ को महामारीले सिद्ध गरिसकेको छ । यी सबै अवस्था ध्यानमा राख्दै नेपाल सरकारले नीति तथा कार्यक्रममा स्वस्थ नागरिक, स्वस्थ समाज र स्वस्थ जीवन भन्ने अवधारणालाई कार्यान्वयनमा ल्याउन टोलटोलमा नागरिक आरोग्य कार्यक्रम सञ्चालन गरिनेछ भनी उद्घोष गरेको छ । यसको उद्देश्य मेरो स्वास्थ्य मेरो जिम्मेवारी भन्ने नारालाई सार्थक पार्न आम नागरिकलाई शारीरिक, मानसिक र आध्यात्मिकरूपमा स्वस्थ एवं सबल बनाइ विश्वव्यापीरूपमा फैलिंदै गएको नसर्ने रोगको प्रकोपलाई न्यूनीकरण गर्न स्थानीय परिवेश र आवश्यकता अनुसार उपलब्ध स्रोतहरूलाई उपयुक्त लचकता अनुसार परिचालन गरी स्वास्थ्य सेवाका तहमा नागरिकहरूको सशक्त सहभागितामार्फत आयुर्वेद योग तथा जडीबुटीको माध्यमबाट शारीरिक तथा मानसिकरूपमा स्वस्थ शरीर, सकारात्मक सोच र व्यक्तित्व विकास गरी स्वस्थ समाज निर्माण गर्नको लागि नागरिक आरोग्य सेवा केन्द्रको अवधारणा ल्याएको छ ।

जहाँ रोग लाग्नबाट बच्न स्वस्थ जीवनशैली, ऋतुचर्या, दिनचर्या, योग, प्राणायाम, भान्सा तथा घरवरिपरिका औषधीय जडीबुटीको संरक्षण संवद्र्धन र उपयोग सम्बन्धित ज्ञान प्रत्येक जनतालाई दिइनेछ र स्वस्थ रहनमा विभिन्न प्रकारले मदत गरिनेछ । साथै कुनै कारणले रोग लाग्यो भने त्यसको प्राथमिक उपचार गरिनेछ र रोगको अवस्था अनुसार माथिल्लो निकायहरूमा प्रेषण गरिनेछ ।

अन्तमा धन्वन्तरि भगवान्ले सबै व्यक्तिलाई निरोगी राखून् भन्ने हाम्रो शुभकामना छ ।

– डा रमेश मिश्र पूर्व कन्सल्टेन्ट आयुर्वेद विज्ञ, मधेस प्रदेश स्वास्थ्य निर्देशनालय

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।