सूचनाको विस्तारमा सामाजिक सञ्जालको पहुँच

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

• सञ्जय साह मित्र
अहिले सामाजिक सञ्जालमा सबैभन्दा व्यस्त हुने वर्ग चाहिं निम्न हो । निम्नवर्गका नवयुवाको हातमा एन्ड्रोइड मोबाइल पुगेको छ र मोबाइलमा अहिले धेरै थोक छ । मोबाइलले नै रेडियो, टेलिभिजन, क्यामरा तथा घडीको काम गरिरहेको छ । यति भएपछि हेर्न तथा सुन्नलाई धेरै थोक पुग्छ । क्यामराले फोटो खिच्ने र भिडियो बनाउने काम पनि गरिरहेको हुनाले युवाहरूलाई व्यस्त बनाएको हो । नवयुवाहरूमा भिडियो हेर्ने तथा भिडियो बनाउने लहर चलेको छ । सबैभन्दा बढी पाखुरा चलेको क्षेत्र यही हो । भिडियो बनायो, सामाजिक सञ्जालमा हाल्यो र लाइक तथा कमेन्टको खोजीमा बस्यो । जति धेरै लाइक र कमेन्ट आयो, आफू त्यत्ति धेरै लोकप्रिय भएको उच्च मनोविज्ञान बनायो । यही मनोविज्ञानले रोजगारको क्षेत्रमा दक्ष हुनबाट धेरैलाई रोकेको छ । साथै यस्ता धेरै नवयुवा छन्, जो मोबाइलमा गेम खेलेर बस्छन् । मोबाइलमा गेम खेलेर विभिन्न लेभल पुगेको भन्छन् । मोबाइलमा चलिरहेको विभिन्न गेमले नवयुवाहरूलाई आफ्नो जीवनको अमूल्य समय सित्तैमा खेर गइरहेको भन्नेतर्फ सोच्न पनि दिइरहेको छैन । अहिले पछिल्लो चरणमा सामाजिक सञ्जालमा नै यससम्बन्धी अनेक चेतनामूलक सन्देशहरू आइरहेका भएपनि नवयुवाहरूमा यस किसिमको सकारात्मक सूचना हेर्ने वा सुन्ने त फुर्सद भने नरहेको देखिन्छ । आफूहरूको समय र श्रम दुवै खेर गइरहेको कुरातर्फ युवाहरूको चिन्तन जान नसक्नु यही सामाजिक सञ्जालको कारणले पनि हो ।

साँच्चिकै सामाजिक सञ्जालले के चाहिं छोडेको छ र ? कुन चाहिं क्षेत्रमा सामाजिक सञ्जालले सूचना दिएको नहोला । सामाजिक सञ्जाल खोल्ना साथ आफ्नो रुचि अनुसारको भिडियो सिफारिश गरेको हुन्छ । भिडियोलाई जति हेर्दा पनि कहिल्यै सकिंदैन । फेरि पनि रुचि अनुसारको भिडियोले मानिसलाई धेरै कुरो सिकाउने पनि हुन्छ । एकजनाले गुनासो गर्दै थिए– मेरो मोबाइलको रिल तथा अन्य भिडियोहरूमा खाली गीत र नृत्य आइरहन्छन्, म हेर्दाहेर्दा हैरान छु । त्यहीं बसेका अर्कोले आफ्नो मोबाइल अगाडि बढाउँदै भने– मेरो मोबाइलमा कुनै पनि गीत र नृत्य आउँदैन, के गर्ने होला ? पहिलोलाई पत्यार लागेन अनि उनको मोबाइल लिएर हेर्न थाले । मोबाइलमा आएका भिडियो तथा रिलहरू जति सबै आयुर्वेद, विज्ञान र खगोल तथा कमेडीसम्बन्धी मात्र थिए । दुवैजनाले एकअर्काको कुरो बुझे । यत्ति हो, यसमा जो जसरी जे हेर्न मन पराउँछ, आउने वा सिफारिश गर्ने त्यहीं नै हो । अर्थात् यसमा ज्ञान र मनोरञ्जन दुवै छन्, बिगार्ने र सपार्ने दुवै सामग्री छन् । यसलाई उपयोग गर्ने कि दुरुपयोग गर्ने भन्ने कुरा आफैंमा निर्भर रहन्छ । मानिस हेर्नलाई लालायित छ कि मोबाइल देखाउनलाई लालायित छ भन्ने प्रश्नको उत्तर कतै खोजेर पाइन्न । मोबाइल हेरेर बिरामी पर्ने कि मोबाइल हेरेर औषधिको कुरा जानी रोगबाट निरोग हुने भन्ने कुरा पनि आफ्नै दृष्टि र दृष्टिकोणमा निर्भर रहन्छ । यद्यपि निम्न वर्गले भने मोबाइललाई अहिलेसम्म केवल मनोरञ्जनको साधनको रूपमा प्रयोग गरिरहेको छ । यसले धेरै युवालाई बरालिदिएको तथ्य हाम्रो सामाजिक यथार्थ पनि हो ।

पहिले गाउँघरमा प्रायः १०–१५ घरको बीचमा एक ठाउँमा जम्मा भएर साँझ तथा बिहान मानिसहरूले सूचना आदानप्रदान गर्थें । तर आजभोलि हरेक मानिसको मोबाइलमा आफ्नो समूह रहेको छ र यसै समूहले सूचना आदानप्रदान गरेर सबैलाई सजिलो बनाइदिएको छ । पहिलेको जस्तो एकै ठाउँको हुनुपर्ने बाध्यता चाहिं हटेको छ । अहिले भौगोलिक दूरीको सीमा पनि छैन र मन लागे जतिलाई समूहमा राख्न सकिने छुट पनि रहेको छ । आरामले सबैजना मिलेर गफ गर्न पाउँछन् । अनि कुनै पनि देशबाट भेट हुन सक्ने अवस्था रहेको छ । सम्भवतः यसभन्दा अगाडि पृथ्वीका बासिन्दालाई यस किसिमको सुविधा रहेको थिएन । यो गज्जबको सुविधाले पहिलेको चिठीपत्रलाई पूर्णतः खाइदिएको छ । पहिले धेरै समय लाग्ने गथ्र्यो तर अहिले जतिखेर पठाउन मन लागे, उतिखेरै र जहाँ पठाउन मन लागे त्यहीं नै सूचना पठाउन सकिने पनि साधन भइसकेको सामाजिक सञ्जाल । सामाजिक सञ्जालमा सबैका लागि तथा कोही एकजनालाई पनि सूचना दिन सकिन्छ । कति सजिलो भएको छ भने लेखेर पनि कुराकानी गर्न सकिन्छ । जसरी एकजनाले आफ्नो साथीको कुरा बुझ्छ, त्यसरी नै एकजनाले आफूले आफ्नो साथीलाई मात्र बुझाउने गरी पनि संवाद गर्न सकिन्छ । यस किसिमको सुविधाले मानिसलाई सचेत बनाएको छ । मानिस सूचित हुन्छ र जानकार बन्छ । सूचनाको क्षेत्रमा एउटा विशाल क्रान्ति आइसकेको छ ।

सामाजिक सञ्जालमा एकजनाले एउटा सूचना राख्यो । उसले राखेको सूचना एउटा प्रतियोगितासम्बन्धी थियो । प्रतियोगिताको सूचनामा एउटा मोबाइल नम्बर पनि दिइएको थियो, सम्पर्कको लागि । सूचनालाई धेरैले लाइक, कमेन्ट वा शेयर गरेनन् । सोझो बुझाइमा प्रतियोगिता असफल होला जस्तो थियो तर वास्तविकता चाहिं अर्कै रहेछ । प्रतियोगिताको लागि सामाजिक सञ्जालमा पढेको भन्दै त्यस विषयमा सोध्ने मानिसहरू धेरै भए, सोचाइभन्दा पनि निकै धेरै । जब धेरै सूचना तथा जानकारीहरू लिएपछि प्रतियोगितामा सहभागी पनि बढ्नु स्वाभाविक हो । प्रतियोगितामा सहभागी धेरै नै भए । आयोजकलाई यस्तो लाग्यो कि सूचना धेरैले हेरे, डाउनलोड गरे र त्यसलाई नै अरू साथी तथा शुभचिन्तकहरूलाई पु¥याए । यसरी सूचनाको धेरै सञ्चार भएको अनुमान गरे । हैन भने सूचनालाई हेरेको अरूले थाहा नपाउने गरी नै हो भने पनि हुन्छ । सूचनालाई पढेर, त्यसैलाई आधार मानेर कार्यरूपमा गएपछि सूचनाको प्रभावकारिताको महŒव थाहा हुन्छ । सामाजिक सञ्जाल आफैंमा एउटा शक्तिशाली सम्पर्क र सूचना तथा सञ्चारको माध्यम भइसकेको छ । सूचना दिने तथा सूचना लिने मात्र नभई आफ्नो मनमा उठेका भाव र भावनालाई पनि यहाँ पोख्न सकिन्छ । कतिपयलाई काम लाग्ने हुन्छ र कतिपयले चाहिं हेर्दा पनि हेर्दैनन् । कति मज्जाको सुविधा रहेको छ, यो सूचना सञ्जाल भने मन लागेको हेर्ने तथा मन नलागेको ‘इग्नोर’ पनि गर्न पाइने । मन लागे बारम्बार हेर्न पाइने, मन लागे जसले सूचना हालेको हो, तिनको बारेमा पनि जानकारी लिन सकिने यो गज्जबको प्रयोग भएको छ । यसैले आजभोलि धेरै मानिस यसैमा झुन्डिइरहन मन पराउँछन् । कतिपय मानिस सामाजिक सञ्जालमा राखिएको सूचनाकै आधारमा आफूलाई क्रियाशील पनि बनाउँछन् ।

कुनै एक देशबाट आएको सूचना, कुनै एक भाषाबाट आएको सूचना, कुनै एक विद्वान्बाट आएको जानकारीलाई विभिन्न देश, भाषा तथा सर्वसाधारणसम्म पुग्न र पुगिरहन सघाउने सामाजिक सञ्जालले मानिसलाई दिएको व्यस्ततामध्ये कति प्रतिशत चाहिं प्रभावकारी वा सार्थक व्यस्तता होला ? माथि नै आइसकेको छ, निरर्थक व्यस्त हुने चाहिं निम्नवर्गका नवयुवा हुन् भने मध्यमवर्गका युवाहरूमा पनि यो प्रवृत्ति अत्यन्त हाबी छ । यद्यपि यो सामाजिक सञ्जालको प्रभावकारितामाथि प्रश्न होइन । यदि वर्तमान परिवेशमा मोबाइलबाट सामाजिक सञ्जाललाई अलप गरिदिने हो भने कस्तो अवस्था आउला ? नवयुवाहरूको मन केवल क्रिकेटले भरिएला ? समाजमा एउटा भयङ्कर ठूलो रिक्तताबोध हुन सक्ने निश्चित छ । अनि हरेक वर्षलाई नसके बढीमा आधा दशक अर्थात् पाँच वर्षलाई एउटा आधार मानेर विचार गरौं त, सामाजिक सञ्जालप्रतिको सकारात्मक निर्भरता अर्थात् सामाजिक सञ्जालमा सर्वसाधारणले पाउने, राख्ने तथा आदानप्रदान गर्ने सूचनाको विस्तार भएको छ कि छैन ? भएको देखिन्छ कि देखिंदैन । यदि पछिल्लो पाँच वर्षलाई विमर्श गर्ने हो भने सबैभन्दा शक्तिशाली सूचना विमर्शको केन्द्र यही सामाजिक सञ्जाल भएको देख्न पाइन्छ, सजिलै अनुभव गर्न सकिन्छ । पछिल्लो पाँच वर्षलाई अब आउने पाँच वर्षसित तुलना गर्ने हो भने अबको पाँच वर्षपछि अझ विस्तार भएको पाउने सम्भावनालाई पनि अस्वीकार गर्न सकिन्न किनभने यसमाथिको निर्भरता बढ्ने क्रम जारी छ । अब सार्वजनिक गर्न मिल्ने सबै आधिकारिक सूचना सामाजिक सञ्जालमा भाइरल गरेर, गराएर सम्भव भएसम्म धेरैलाई जनाउने वा सम्बन्धितसम्म पु¥याउने काम पनि भइरहेको देख्न र बुझ्न सकिन्छ । अहिलेको यो सामाजिक तथा व्यावहारिक बाध्यता पनि हो ।

सामाजिक सञ्जालले मानमनितादेखि भोजको निम्तोसम्म दिने र स्वीकार गर्ने काम गरिरहेको छ । यो आफैंमा साक्षी पनि अनि प्रमाण पनि बन्न सफल भइरहेको छ । आजभोलि जो सामाजिक सञ्जालमा अभ्यस्त छैन, उसले आफूलाई धेरै कुरामा पछि पाउँछ । साथीभाइमा सबैभन्दा बूढो हुनुको मुख्य लक्षण सामाजिक सञ्जाल चलाउन जान्दैन भन्ने होइन, अहिलेसम्म हेर्न भ्याएको छैन भन्ने आधारमा हुन थालेको छ । समग्रमा सामाजिक सञ्जालले विश्वमा सूचनाको विस्तारमा एउटा विशिष्ट महŒवपूर्ण भूमिका निर्वाह गर्ने साधन वा माध्यमको काम गरिरहेको छ । यस कुरालाई करीब सबैले स्वीकार गरिसकेको अवस्था पनि हो ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।