बीउ बैंकले आशाप्रद काम  गर्न सकेन–नगरप्रमुख कलवार

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, सिम्रौनगढ, १४ भदौ/

बाराको सिम्रौनगढ नगरपालिका– ८ कचोर्वामा कृषि विकास संरक्षण समाज कचोर्वा सामुदायिक बीउ बैंकको २१औं साधारणसभा शुक्रवार सम्पन्न भएको छ।

कार्यक्रमका प्रमुख अतिथि एवं सिम्रौनगढ नगरपालिकाका प्रमुख किशोरीप्रसाद कलवारले संस्थाले २१ वर्षमा पनि आशाप्रद कार्य नगरेको आरोप लगाए। उनले यत्रो लामो समयसम्म पनि लक्ष्यअनुरूपको कार्य नभएको बताए। उनले संस्थामा देखिएका कमीकमजोरीलाई औंल्याएर त्यसमा सुधार गरी अगाडि बढेको खण्डमा लक्ष्यप्राप्ति हुने बताए। नगरप्रमुख कलवारले संस्थाको प्रगतिका लागि नगरपालिका सहयोग गर्न तयार रहेको बताउँदै त्यसका लागि प्रस्तावना पेश गर्न आग्रह पनि गरे। उनले तत्काल पाँच लाख रुपैयाँ सहयोग घोषणा गरे। उनले स्थानीय किसानहरूले लगाउने बालीमध्ये लोपोन्मुख बीउहरू, विभिन्न जातका बालीहरू र सोसम्बन्धी ज्ञान, सीप र प्रविधिबारेमा पनि अभिलेखीकरण गर्न सुझाए। नगरप्रमुखले यसो गर्दा भावी पुस्ताका किसानहरूलाई अध्ययन गर्न सहज हुने र यसबाट पनि कृषिमा टेवा पुग्ने दाबी गरे।

कृषि विकास संरक्षण समाजका अध्यक्ष रामबाबू यादवको अध्यक्षतामा भएको कार्यक्रममा पूर्वअध्यक्ष   रामएकबालप्रसाद यादव, साना किसान सहकारी संस्था सिम्रौनगढका प्रमुख दिलीप कर्ण, कृषि विकास संरक्षण समाजको संस्थापक अध्यक्ष महानरायप्रसाद यादव, वडाध्यक्ष रामएकबाल यादव, पत्रकार लक्ष्मीसाह सोनार, शिक्षक राकेशप्रसाद यादवलगायतले मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रमको सहजीकरण नवलकिशोर यादवले गरेका थिए।

यसैबीच आजै सम्पन्न साधारणसभाको बन्दसत्रबाट रूपनारायणप्रसाद यादवको अध्यक्षता सर्वसम्मत नौ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ। समितिकी उपाध्यक्ष कुमारी कृष्णा, सचिव महानरायप्रसाद यादव, सहसचिव नवलकिशोर ठाकुर, कोषाध्यक्ष पारससाह सोनारलगायत सदस्यहरू छन्।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।