ब्रजीलमा विमान दुर्घटना, ६१ जनाको मृत्यु

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

विन्हेडो, ब्रजील, २६ साउन/एएफपी
ब्रजीलको साओ पाउलो राज्यमा शुक्रवार ५७ जना यात्रु र ४ चालक दलका सदस्य बोकेको एउटा विमान दुर्घटनामा परेको छ । विमानमा सवार सबै ६१ जनाको मृत्यु भएको एयरलाइन्सले जनाएको छ ।

दक्षिणी राज्य परानाको क्यास्कावेलबाट साओ पाउलो शहरका लागि उडेको भोपास एयरलाइन्सद्वारा सञ्चालित एटिआर ७२–५०० विमान भिन्हेडो शहरमा दुर्घटनामा परेको
हो ।

लगभग ७६ हजार जनसङ्ख्या रहेको भिन्हेडो शहर साओ पाउलोबाट लगभग ८० किलोमिटर उत्तरपश्चिममा अवस्थित छ ।

स्थानीय सञ्चारमाध्यमले प्रसारण गरेको तस्बिरमा उक्त जहाज आकाशमा चक्कर लगाउँदै खसेको र दुर्घटनास्थलबाट धूवाँको मुस्लो उडेको देखिन्छ ।

साओ पाउलो राज्यका गभर्नर टारसिसियो डे फ्रिटासले घटनास्थलमा पत्रकारहरूसँग भने–“पीडितको शव पहिचान प्रक्रिया शुरू भइसकेको छ र यो रातभरि जारी रहने छ ।”
ब्रजीलका राष्ट्रपति लुला दा सिल्भाले यस घटनाप्रति दुःख व्यक्त गर्दै राज्यमा तीन दिन शोक मनाउने घोषणा गरेका छन् ।

भोपासले पीडितका परिवारलाई पूर्ण सहयोग गरिरहेको र दुर्घटनाको कारण पत्ता लगाउन अधिकारीहरूसँग सहकार्य गरिरहेको बताएको छ ।

ब्रजीलको सेनिपा उड्डयन दुर्घटना एजेन्सीले यस घटनाको अनुसन्धान शुरू गरेको छ । रासस

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।