कोलकाता, २४ साउन/एएफपी
विद्यार्थी नेतृत्वको विद्रोहले प्रधानमन्त्री शेख हसिनालाई सत्ताबाट अपदस्थ गरेको केही दिनपछि सुरक्षाको समस्या देखाउँदै बङ्गलादेशका सयौं नागरिक भारत प्रवेशका लागि भारत–बङ्गलादेश सीमामा भेला भएका बिहीवार सुरक्षा अधिकारीहरूले बताएका छन् ।
हसिनाको निष्कासनपछि मुस्लिमबहुल बङ्गलादेशका केहीले उनीसँग निकट सम्बन्ध रहेको आशङ्कामा हिन्दूहरूको स्वामित्वमा रहेका केही व्यवसाय र घरहरूमा आक्रमण गरेका थिए ।
“सयौं बङ्गलादेशी नागरिक प्रायः हिन्दू, बङ्गलादेश–भारत सिमानामा भेला भएका छन्”–भारतको सीमा सुरक्षा बल (बिएसएफ)का उपमहानिरीक्षक अमित कुमार त्यागीले बताए ।पश्चिम बङ्गाल राज्यको भारतीय सीमा क्षेत्रको अन्तिम बिन्दुमा २०० जना र पश्चिम बङ्गाल राज्यको जलपाईगुडी जिल्लामा ६०० भन्दा बढी भेला भएका त्यागीले बताए ।
“दुई देशबीच सीमामा कुनै पर्खाल नभएको कारण बिएसएफका जवानले भीडलाई टाढा राख्न मानव ढाल निर्माण गरेका थिए । अधिकारीहरूले सीमा क्षेत्रबाट भीड पन्छाउन हवाई फायर गरेका थिए”–उनले भने ।
सन् २००९ देखि सत्तामा रहेकी ७६ वर्षीया हसिनाले एक महीनाभन्दा बढी चलेको आक्रामक विरोध प्रदर्शनपछि सोमवार राजीनामा दिएकी हुन् । त्यसपछि बङ्गलादेशको सुरक्षा स्थितमा सुधार भएको छ तर उनका समर्थक र पार्टीका अधिकारीमाथि आक्रमणको खबर आएको छ । बङ्गलादेश हिन्दू, बौद्ध, क्रिश्चियन, युनिटी काउन्सिलले यस हप्ताको शुरूमा सोमवार कम्तीमा १० वटा हिन्दू मन्दिरमा आक्रमण भएको बताएको थियो । रासस