नितेश कर्ण, वीरगंज, १० साउन/
तराई–मधेसका नवविवाहित बेहुलीले १५ दिनसम्म मनाउने मधुश्रावणी पूजा बिहीवारदेखि शुरू भएको छ । साउन महीनाको मैना नाग पञ्चमीदेखि शुरू भएको पूजा मिथिलाका ब्राह्मण, कायस्थ, देव तथा सोनार जातिका नवविवाहिता महिलाहरू यो व्रत बस्ने चलन छ ।
माइतीमा यो पूजाको आयोजना हुने भएकोले पूजा शुरू हुने अघिल्लो दिनदेखि नै नवविवाहिता बेहुलीले आफ्ना साथीहरूसँग गाउँ डुलेर विभिन्न प्रकारका फूलपात टिपेर ल्याउने, भोलिपल्ट त्यही बासी तथा ताजा पूmलपातले भगवान् शिव, गौरी, नागनागिनलगायतलाई पूजा गर्ने गर्छन् ।
पूजा शुरू भएदेखि सम्पन्न हुने १५ दिनसम्म छिमेकी महिलाहरू व्रतालु महिलाको घरमा आउने देवीदेवताको जीवनशैलीमा आधारित गीत गाउने र एकजनाले भगवान् शिव र माता पार्वतीको जीवनशैलीमा आधारित कथा भन्ने चलन रहेको छ । यो पूजा गर्ने उद्देश्य धेरै भएपनि यस पूजामा प्रकृतिक सामग्री अनिवार्य चढाइने भएकाले यस पूजाले पर्यावरण र प्रकृतिको संरक्षण गर्न सिकाउँछ । प्रत्यक्ष–अप्रत्यक्षरूपमा संरक्षण हुँदै आएको पनि छ ।
नवदम्पतीलाई प्रेम, अनुशासन, प्रकृतिको रक्षा, आफ्नो घरपरिवारप्रतिको जिम्मेवारीबोध हुने खाले कथा सुनाइने हुनाले यस पूजाले जीवनमा धेरै सहयोग गर्दै आएको आफूले महसूस गरेको वीरगंज–१ की मीना देवले बताइन् ।
पूजामा चढाइने हात्ती, अहिवात (माटोको भाँडो), चारमुखे दियो, माटोको घैला, पानको पात, पान, सुपारी, सिन्दूर, बेलको पात, विभिन्न प्रकारका फलफूल, गाईको काँचो दूध, धानको लावा, मिठाइ सबै व्रतालु महिलाका पतिको घरबाट आउने र दिनहुँ चढाएर निष्ठाका साथ पूजा गर्ने चलन छ ।
पूजाको सामग्रीसँगै जति दिनसम्म पूजा हुन्छ, त्यतिवटा पानका ठूल्ठूला पात पतिको घरबाट पठाइन्छ । पूजा गर्ने स्थान पानका पातले ढाकी दिनहुँ पूजा समापन गर्ने बेलामा फूल छर्कने चलन रहेको व्रतालु महिला प्रियङ्का कर्णले बताइन् ।
पूजामा १५ दिनसम्म भनिने कथा र गीतमा मौलिकता भएको व्रतालु रोशनी झा बताउँछिन् । उनी भन्छिन्, “यस पूजाले हामीलाई दाम्पत्य जीवन सहज र सरल तरीकाले निर्वाह गर्न प्रेरणा दिने गरेको छ ।”