प्रस, निजगढ, १ साउन/
विद्यालय शिक्षाको गुणस्तर उकास्न, शिक्षक र विद्यार्थीहरूलाई पठनपाठन गर्न सहज होस् भनेर शिक्षकहरूलाई ल्यापटप वितरण गरिएको छ । निजगढ नगरपालिका–८ स्थित गौरीशङ्कर माविका ४० जना शिक्षकलाई आइतवार ल्यापटप वितरण गरिएको हो ।
समयसापेक्ष आधुनिक प्रविधिको उच्चतम प्रयोग गर्दै प्रविधिमैत्री शिक्षण सिकाइका लागि शिक्षक र विद्यार्थीहरूको पठनपाठनमा सहजता ल्याउने उद्देश्यले ल्यापटप वितरण गरिएको विद्यालयका प्रअ बद्रीनारायण झाले जानकारी दिए । नमूना विद्यालय विकास कार्यक्रम अन्तर्गत शिक्षकहरूलाई ल्यापटप वितरण गरिएको विद्यालयले जनाएको छ । विद्यालयमा ६५ जना शिक्षक कार्यरत रहे पनि पहिलो चरणमा ४० थान ल्यापटप वितरण भएको र अन्य शिक्षकहरूलाई पनि ल्यापटप वितरण गरिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रविकुुमार बर्तौलाले बताए ।
प्रविधि प्रयोग गरी पठनपाठन गराउँदा समयको बचत हुुनुुका साथै आधुनिक प्रविधिसँग शिक्षक र विद्यार्थीहरूलाई जानकारी हुन्छ । यसले गर्दा शिक्षाको विश्व बजारमा सहजै घुलमिल हुन मदत पु¥याउँछ, शिक्षक बोधनाथ चौलागाईंले भने । “अहिले हामीहरूलाई उपलब्ध गराइएका ल्यापटपहरू पहिलेदेखि नै प्रयोग गर्न पाइएको भए, शिक्षा क्षेत्रमा अझै राम्रो उपलब्धि पाउन सक्थ्यौं”–अधिकांश शिक्षकहरूले भने ।
कक्षा ४ देखि १२ सम्म कम्प्युुटर शिक्षा पढाइ हुँदै आएको यस विद्यालयमा लगभग अढाई हजार विद्यार्थी अध्यानरत रहेको विद्यालय प्रशासनले जनाएको छ । विद्यालयमा दुई दशक अघिदेखि अङ्ग्रेजी माध्यमबाट पढाइ हुन थालेपछि प्रदेशकै अन्य विद्यालयहरूसँगै यो विद्यालय पनि अग्रणी स्थानमा पर्दै आएको छ । विद्यालय बारा, पर्सा, रौतहट, सर्लाहीलगायत छिमेकी जिल्लाहरूका विद्यार्थी तथा अभिभावकहरूको रोजाइमा पर्दै आएको छ ।