क्षतिग्रस्त लालबकैया बाँधको निरीक्षण

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, वीरगंज, २४ असार/

बाढीले रौतहटस्थित लालबकैया नदी र बाग्मती नदीको बाँधमा क्षति पुर्याएको छ। लालबकैया नदी नियन्त्रणका लागि रौतहट जिल्ला विपद् व्यवस्थापन समितिद्वारा मर्यादपुरस्थित जोखिमपूर्ण बाँधको निरीक्षण तथा अनुगमन गरिएको छ।

मौलापुर नगरपालिकाकी प्रमुख रीनाकुमारी साह, उपप्रमुख नागेन्द्र यादव, विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मी, प्रहरी उपरीक्षक दिलीप घिमिरे, सशस्त्र प्रउ विक्रम हुमागाईं, मौलापुरका प्रमुख प्रशासकीय अधिकृत रामबाबू साहलगायतले मौलापुर–१ मर्यादपुरस्थित बाँधको निरीक्षण गरेका थिए।

टोलीले बाँधमा देखिएका समस्याको समाधान गर्न समयमैं पहल गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। मर्यादपुरछेउ लालबकैया नदीको बाँधमा झन्डै सात सय मिटर क्षतिग्रस्त अवस्थामा देखिएको टोलीमा सहभागी सप्रउ हुमागाईंले जानकारी दिए।

जल उत्पन्न प्रकोप तथा नदी नियन्त्रण कार्यालय, परवानीपुरमा यसपटक आवश्यक बजेटको व्यवस्था नहुँदा आकस्मिकरूपमा नदी नियन्त्रणमा स्थानीय निकाय, सशस्त्र प्रहरी, जनपद प्रहरी र आवश्यकता अनुसार नेपाली सेनाको सहयोग लिनुपर्ने अवस्था देखिएको सप्रउ हुमागाईंले जानकारी दिए।

मर्यादपुरछेउको बाँधमा नदीको पानीभन्दा पनि वर्षाको पानीले क्षति पुर्याएको अनुगमन टोलीको निष्कर्ष रहेको छ। हाल लालबकैया र बाग्मती नदीका कैयौं स्थानमा बाँधमा देखिएको क्षतिको वर्षात् शुरू हुनु अघि मर्मत गर्नुपर्ने स्थानीयले बताएका छन्।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।