ज्यामी नपाएर बझियानमा धान रोपाइँ प्रभावित

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

धर्मेन्द्र चौरसिया, पोखरिया, १७ असार/

पर्सा जिल्लाको बझियान क्षेत्रमा ज्यामी अभावले अहिले धान रोपाइँ प्रभावित भएको छ।

एक सातादेखि पानी पर्दा गण्डक नहरदेखि दक्षिण क्षेत्रको बझियानमा रोपाइँ शुरू भएको हो। रोपाइँ शुरू भएपनि ज्यामी नपाउँदा आशाप्रदरूपमा रोपाइँ हुन नसकेको एकजना किसानले बताए।

बझियानमा ज्यामीको ज्याला अन्यत्रभन्दा कम भएकोले यहाँका ज्यामीहरू ठोरी गाउँपालिका र चितवन जिल्लामा गएर ठेक्कामा काम गर्छन्। ठेक्कामा काम गर्दा सो क्षेत्रमा उनीहरूलाई दैनिक हजारदेखि डेढ हजार रुपैयाँ आम्दानी हुन्छ। बझियानमा भने दिनभरि कमाउँदा प्रतिकट्ठा रु ३०० र भुजापकौडी नास्ता खुवाइन्छ। थरुहट क्षेत्रमा ज्यामीलाई रु २५० ज्याला र मासुभात खुवाइन्छ।

दैनिक ज्याला मजदूरी कम भएको कारणले नै यहाँका ज्यामीहरू अन्यत्र जाने गरेका छन् र यहाँको रोपाइँ प्रभावित हुने गरेको छ। समयमा धान रोपाइँ नहोला भन्ने चिन्ता यहाँका किसानलाई छ। धानको बीउ तयारी अवस्थामा रहेको तर ज्यामीको कारण रोपाइँ हुन नसक्दा धेरैजसो किसानले आलोपालो गरी एकअर्कालाई सहयोग गरेर रोपाइँलाई निरन्तरता दिएका छन्।

धान रोपाइँको बेलामा भारतबाट आउने ज्यामीहरू पनि ठोरी र चितवनतिर नै जान्छन्। उनीहरूलाई उतै पारिश्रमिक राम्रो पाउने हुनाले यतातिर आउँदैनन्।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।