महानगरमा नयाँ तीन पाङ्ग्रे सवारी दर्तामा रोक

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, वीरगंज, १७ असार/

वीरगंज महानगरपालिका कार्यालयको आग्रहपछि श्रम तथा यातायात मन्त्रालयले तीन वर्षसम्म महानगरमा तीन पाङ्ग्रे सवारीसाधनको दर्ता बन्द गरेको छ।

वीरगंज महानगरपालिका कार्यालयका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईले असार ४ गते यातायात व्यवस्था कार्यालय, वीरगंजलाई पत्राचार गर्दै महानगरमा तीन पाङ्गे्र सवारीसाधनको चाप अत्यधिक बढेकाले तीन वर्षसम्मका लागि सवारी दर्ता रोक्न आग्रह गरेका थिए।

महानगरको सोही पत्रका आधारमा श्रम तथा यातायात मन्त्रालयले मातहतको वीरगंजस्थित कार्यालयलाई महानगरमा नयाँ तीन पाङ्ग्रे सवारीसाधन सञ्चालनका लागि रूट परमिट जारी नगर्न निर्देशनात्मक पत्राचार गरेको यातायात व्यवस्था कार्यालय, पर्साका प्रमुख उमेश रेग्मीले बताए। उनले कार्यालयबाट दर्ताको प्रक्रिया नरोकिने तर महानगरमा सञ्चालनका लागि भने रूट परमिट जारी नहुने बताए।

उपभोक्ता हकहित संरक्षण मञ्चका अध्यक्ष अजय अधिकारीले महानगरपालिकाले आफ्नो क्षेत्रमा रोक लगाउन सक्ने तथा दर्ता प्रक्रिया तीन वर्षका लागि रोक्न भन्नु गलत भएको बताए। उनले महानगरपालिकामा सञ्चालन रोक लगाएर अन्यत्र सञ्चालनका लागि दर्ता प्रक्रिया जारी राख्ने मन्त्रालयको निर्णय ठीक भएको प्रतिक्रिया दिएका छन्।

वीरगंजमा २०७२ सालदेखि तीन पाङग्रे सवारीसाधन (ई–रिक्शा, टेम्पो) सञ्चालन भएको थियो। त्यस अघि अधिकांश विक्रम टेम्पो इजाजतविना सञ्चालनमा थिए। मधेस आन्दोलनको क्रममा नाकाबन्दी भएपछि दुई/तीन वटा ई–रिक्शा सञ्चालनमा आएर लोकप्रिय भएपछि वीरगंजमा हजारौंको सङ्ख्यामा ई–रिक्शा, टेम्पो सञ्चालनमा आएका हुन्। पर्सा जिल्लामा नै तीन पाङ्ग्रे सवारीसाधनको सङ्ख्या अहिले व्यापक भएको छ।

तीन पाङ्ग्रे सवारीसाधनहरूको व्यापकताले कुनै बखत रिक्शा र टाँगाको बाहुल्यता रहेको वीरगंजबाट अहिले रिक्शा र टाँगा प्रायः लोप अवस्थामा छन्। वीमनपामा अधिकांश ई–रिक्शा र टेम्पो अहिले विनादर्ता सञ्चालनमा छन्। यातायात व्यवस्था कार्यालय र महानगरपालिकामा दर्ताविना सञ्चालनमा रहेका तीन पाङ्ग्रे सवारीसाधनहरूलाई नियन्त्रण गर्न सकिएको छैन।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।