नेपाल प्रेस युनियन, पर्साले नेपाल पत्रकार महासङ्घ, पर्साको प्रवेशद्वारमा सोमवार दुई घण्टा धर्ना दिएको छ।
नेपाल पत्रकार महासङ्घले जारी गरेको नयाँ सदस्यता सम्बन्धमा आपत्ति जनाउँदै आएको युनियनले आज देशव्यापीरूपमा महासङ्घमा धर्ना दिने केन्द्रीय नीतिअनुरूप पर्सामा पनि युनियनले धर्ना दिएको अध्यक्ष विजय महतोले बताए।
युनियनले यस अघि गत शनिवार पत्रकार महासङ्घको केन्द्रदेखि जिल्ला शाखाहरूमा तालाबन्दी गरेको थियो। नयाँ सदस्यता वितरणमा जिल्ला र प्रदेशबाट भएका सिफारिशविपरीत केन्द्रले एक हजार तीन सय बढी सदस्य थप गरेको भन्दै शुरूमा प्रेस सङ्गठनबाहेक युनियन, चौतारी, मञ्चले महासङ्घमा तालाबन्दी गरेका थिए।
पछिल्लो विकसित घटनाक्रममा युनियन यो सदस्यता वितरणको विरोधमा एक्लो देखिएको छ। महासङ्घको निर्वाचन गत जेठ २६ गते तोकिएको थियो। तर निर्धारित समयमा चुनाव हुन सकेन र अर्को मिति यही असार २२ गते तोकिएको छ।
निर्वाचन नजीकिंदै जाँदा युनियनको विरोधका कारण निर्वाचन समितिले राजीनामा दिइसकेको छ। तर विवाद मत्थर भएको खण्डमा तोकिएको समयमा निर्वाचन गर्न प्रतिबद्ध रहेको समितिले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। २०४६ सालपछि महासङ्घको निर्वाचन तोकिएको समयमा हुँदै आएको थियो। ३४ वर्षको लामो समयपछि पहिलोपटक तोकिएको समयमा निर्वाचन हुन नसकेको हो।