विनाश होइन, विस्तार गरौं

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

बारा जिल्ला निजगढ नगरपालिका–९ स्थित आदर्श सदाबहार सामुदायिक वन उपभोक्ता समूह अन्तर्गतको करीब एक बिघा जग्गा विगत चार वर्षदेखि वीरगंजको रञ्जन निर्माण सेवाले अनधिकृतरूपमा उपभोग गर्दै आएको छ। सो निर्माण सेवाले वनको जग्गामा अस्फाल्ड बेचिङ प्लान्ट  सञ्चालन गर्दै आएकोमा अहिले बल्ल चार वर्षपछि वन उपभोक्ता समूहको आँखा परेको छ। अस्फाल्ड बेचिङ प्लान्टबाट सो ठेकेदार कम्पनीले विभिन्न साइडहरूमा कालोपत्रको काम गर्दै आएको देखिन्छ। रञ्जन निर्माण सेवाले सामुदायिक वनको एक बिघा जग्गामा आफ्नो प्लान्ट राखेर सो आसपासका क्षेत्रहरूमा कालोपत्रको काम गर्दै आएको हो। निजगढ नगरपालिका कार्यालयले उक्त ठेकेदार कम्पनीलाई निजगढ नपा क्षेत्रमा कालोपत्र सडक निर्माणको क्रममा सो प्लान्ट सञ्चालनका लागि मौखिक अनुमति  दिएको वन समूहका पदाधिकारीहरूले बताए। निजगढ  नपाको सहयोगविना ठेकेदार कम्पनीले प्लान्ट सञ्चालन गर्न सक्दैन।

निजगढ नपाले आफ्नो क्षेत्रमा हुने कालोपत्र सडक निर्माणको क्रममा पिच पकाएर तयार पार्नका लागि सो स्थान उपलब्ध गराएको थियो। नपाका विभिन्न स्थानहरूमा पिच पकाएर काम गर्दा स्थानीयको स्वास्थ्यमा समस्या हुने र कामको क्रममा पिच पकाउन स्थान अभाव पनि हुन सक्ने कुरालाई दृष्टिगत गरेर एउटा स्थान तोकिदिएको हुनुपर्छ। यो काम नपा लक्षित योजनाहरूको लागि मात्र हुनुपर्ने र सो कार्य सकिएपछि ठेकेदार कम्पनीले प्लान्ट बन्द गर्नुपर्ने थियो। तर यसो गरिएन र नपाको कालोपत्र गर्ने कामको अवधि सकिएपछि पनि प्लान्ट सञ्चालन भइरह्यो। निजगढ नपाले एक/दुई कट्ठामा सो कार्य गर्न मौखिकरूपमा भनेकोमा अहिले ठेकेदार कम्पनीले भने क्षेत्र विस्तार गर्दै एक बिघा जग्गा कब्जा गरेर काम गर्दै आएको छ। ठेकेदार कम्पनीको यो हरकत चार वर्षसम्म चलिरहँदा यसबाट वन समूहको स्वार्थ नजोडिएको होला भन्ने पनि छैन। नत्र यत्रो अवधिसम्म बीच जङ्गलमा ठेकेदार कम्पनीले सबैको आँखा पर्ने काम सहजरूपमा गर्न सक्दैन थियो। अहिले सञ्चारमाध्यममा यसको विरोध शुरू भएपछि वन समूह पनि तातेको छ भने डिभिजन वन कार्यालयले पनि चासो बढाएको छ।

बारा जिल्लामा वन अतिक्रमण पुरानो समस्या हो। अहिले पनि एक हजार हेक्टर बढी वन क्षेत्र अतिक्रमणको शिकार छ। एक तथ्याङ्क अनुसार बारा जिल्लाको वन क्षेत्र आधा दशक अघिसम्म ४७ हजार १८२ हेक्टर थियो। पर्सा राष्ट्रिय निकुञ्जमा १५ हजार ९९१ हेक्टर वन क्षेत्र गाभिएपछि ३१ हजार १९१ भयो। डिभिजन वन कार्यालय बाराले आधा दशकमा करीब आठ सय हेक्टर वन अतिक्रमण खाली गराएर वन क्षेत्र विस्तार गरेको छ र अहिले करीब ३२ हजार हेक्टर वन क्षेत्र छ। अहिले पनि होटल व्यवसाय, बस्तीहरूको नाममा वन अतिक्रमण जारी छ। यो मात्र हटाएको खण्डमा एक हजार हेक्टर वन क्षेत्र बढ्ने अनुमान गरिएको छ। बारामा ४१ वटा वन समूह र चारवटा साझेदारी वन उपभोक्ता समूह छन्। वन समूह र उपभोक्ता समितिको काम वनको क्षेत्रको संरक्षण र विस्तार गर्नु हो। तर बाराको हकमा वन समूह, उपभोक्ता समितिहरू वनविनाशमा विभिन्न समयमा आरोपित हुँदै आएका छन्। पछिल्ला केही घटनाहरू त्यसका उदाहरण पनि हुन्।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।