बलिराम शुक्ला, बिरुवागुठी, ३१ वैशाख/
पर्सागढी नगरपालिकालगायत ग्रामीण भेगमा सोमवार भएको वर्षाले किसानहरू खुशी भएका छन् ।
गत साता परेको हल्का वर्षाले किसानले लगाएको बालीलाई खासै फाइदा गरेको थिएन । तर आज बिहानदेखि परेको भारी वर्षाका कारण बाली लगाएका किसानहरू खुशी भएका हुन् ।
आजको वर्षाले विशेषगरी चैते धान, मकै र तरकारीबालीलाई फाइदा पु¥याएको पर्सागढी नगरपालिका वडा नं ३ का किसान भुलन खाँ थारूले बताए ।
अत्यधिक गर्मीका कारण तथा लामो समयदेखि भारी वर्षा नहुँदा सिंचाइको लागि किसानले खेतमा गाडेको बोरिङ सुक्न थालेको अवस्थामा आज बिहानैदेखिको भारी वर्षाले केही समयको लागि किसानहरूलाई राहत हुने देखिएको छ ।
किसानहरूले लगाएका चैते धानमा सिंचाइ गरी युरिया मल दिने समयमा वर्षा हुँदा झनै फाइदा पुगेको अर्का किसान नारायणप्रसाद दाहाल बताउँछन् ।
लामो समयदेखि वर्षा नहुँदा पर्साको राष्ट्रिय वनमा लागेको डढेलोको कारण वातावरण सुक्खा भएर वन्यजन्तु, चराचुरुङ्गीहरूलाईसमेत अप्ठेरो परेको बेला आजको वर्षाले राहत दिएको छ ।