वनको डढेलो र गहुँको ठुटो जलाउँदा आगलागीको जोखिम र वातावरण प्रदूषित हुँदै

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, सेढवा, ३ वैशाख/
वनमा लागेको डढेलो तथा किसानहरूले गहुँको ठुटो हटाउनका लागि खेतमा आगो लगाउँदा आगलागीको जोखिम बढ्नुका साथै वातावरण प्रदूषित हुन थालेको छ । डिभिजन वन कार्यालय, पर्सा अन्तर्गत राष्ट्रिय वनमा पटकपटक डढेलो लागिरहेको हुँदा डढेलोबाट उत्पन्न धूवाँका कारण वातावरण प्रदूषित भएको छ ।

किसानहरूले गहुँ भिœयाएपछि खेतमा रहेका गहुँका ठुटा र छवालीमा अव्यवस्थित तरीकाले आगजनी गरेर नष्ट गरिरहेका छन् । चर्को घाम र हावा चलिरहेको बेला खेतमा आगो लगाउँदा ग्रामीण क्षेत्रमा आगलागीका घटना वृद्धि भएका छन् । मानवबस्तीसँग जोडिएका खेतबारीमा आगजनी गर्दा जङ्गलसँगै गाउँघरमा पनि आगलागीका घटना हुने गरेका छन् ।

जङ्गलमा लागेको डढेलो र खेतमा गहुँको ठुटो र छवालीमा आगजनी गर्दा सोबाट निस्किने धूवाँका कारण वातावरण नै प्रदूषित भएको छ । हावामा बाक्लो धूवाँ भएका कारण प्राणीको स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ ।

गहुँमा आगलागी, किसानले क्षतिपूर्ति पाउने

पर्साको जगरनाथपुर गाउँपालिका वडा नं ३ खुलुचडीमा आगलागी भई क्षति भएको गहँुबालीको क्षतिपूर्ति पाइने भएको छ । चैत ३० गते हार्भेस्टर मेशीनको प्रयोग गरी गहुँ कटानी गर्ने क्रममा मेशीनबाटै आगलागी भएको थियो ।

सो आगलागीबाट स्थानीय महमद आसिक अन्सारी, नसरुल्लाह अन्सारी, सनलुलाह अन्सारी, नसरुद्दीन गद्दी, सुभान गद्दी, जुमाद्दीन गद्दी, तैयब अन्सारी, महमद सानी अन्सारी, इसा अन्सारी, मकसुद गद्दी, विजय गद्दी र करमुल्लाह गद्दीका गहुँबाली जलेर नष्ट भएको थियो । सो हार्भेस्टर मेशीनका साहु स्थानीय फजिल गद्दी रहेका छन् । जगरनाथपुर गापाका अध्यक्ष श्रीकान्त यादव, वडाध्यक्ष सुभाषकुमार यादव तथा स्थानीय अगुवाहरूले पञ्चायत बसी हार्भेस्टरका साहु फजिलले किसानहरूलाई प्रतिबिघा ५५ मन (२२ क्वीन्टल) गहँु क्षतिपूर्ति दिने निर्णय गरेका हुन् । जलेको गहँुबालीको जग्गाको नापी गर्दा छ बिघा र १० कट्टा रहेको स्थानीय महमद सानी अन्सारीले बताए । 

प्रदूषित वातावरणका कारण बिहान हुस्सु लागेजस्तो धूवाँले ढाकिएको देखिन्छ । जसले गर्दा आँखा पाकेर सुन्निने र रातो हुने तथा छालामा विभिन्न किसिमका सङ्क्रमण र रोग लाग्ने गरेको छ ।

आगजनी तथा डढेलोबाट निस्केको धूवाँले विशेषगरी जङ्गलसँग सिमाना जोडिएका ठोरी, जीराभवानी, जगरनाथपुर, पटेर्वासुगौली गाउँपालिका, पर्सागढी नगरपालिकाका बासिन्दामा यस्ता समस्या देखिएको स्थानीयहरूले बताएका छन् ।

सबडिभिजन वन कार्यालय वसन्तपुरका प्रमुख सुमन पाण्डेले जङ्गलमा प्रवेश गर्नेहरूको खानतलाशी गरेर सलाई, लाइटर लिने गरेको बताए । जङ्गलको सीमा खुला भएकोले गोठालो जाने तथा दाउरा लिन जानेहरूले जङ्गलमा आगो लगाउने गरेको उनको भनाइ छ ।

गहुँबालीबाट निस्केको छवाली तथा ठुटा लामो समयसम्म नकुहिनाले खेतमा आगजनी गरेर नष्ट गर्नुपरेको किसानहरू बताउँछन् । खाली खेतमा चैते धान रोप्नुपरेकोले पनि अहिले सुक्खा भएको बेला किसानहरूले जलाउने गरेका छन् । पानी परेपछि छवाली र ठुटो भिजेपछि जलाउन कठिन हुने भएकोले यही मौसममा जलाउनुपर्ने बाध्यता रहेको किसानहरूको भनाइ छ ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।