नितेश कर्ण, वीरगंज, ४ वैशाख/
सर्लाहीका किसानहरूलाई यतिखेर गहुँ काट्ने, थ्रेसिङ गर्ने र बाली भित्र्याउन व्यस्त छन् । खेतमा असारे धानको बीउ छर्नुपर्ने भएकोले यतिबेला किसानहरू गहुँ भित्र्याउन लागिपरेका हुन् । गत वर्षको तुलनामा यस वर्ष गहुँको उत्पादनमा कमी आएको कविलासी नगरपालिका–७ का दीपेन्द्र रायले बताए । उनले पर्याप्त वर्षा नहुँदा तथा सिंचाइको राम्रो व्यवस्था नहुँदा गहुँ उत्पादनमा कमी आएको बताए ।
सर्लाहीमा गहुँखेती २९ हजार ९०५ हेक्टर जग्गामा हुने गरेको कृषि ज्ञान केन्द्र, सर्लाही जनाएको छ । गत वर्षको तुलनामा यस वर्ष पाँचदेखि १० प्रतिशतले उत्पादन बढेको केन्द्र प्रमुख देवानन्द यादवले दाबी गरे ।
सिंचाइको सुविधा नभएको र समयमा मल उपलब्ध नभएको क्षेत्रमा उत्पादन कम भएपनि अघिल्ला वर्षको तुलनामा यस वर्ष गहुँ उत्पादनमा वृद्धि भएको प्रमुख यादवले बताए ।
जिल्लाको कुल खेतीयोग्य जमीन ५२४.८ हेक्टर क्षेत्रफलमा सिंचाइको सुविधा रहेको उनले बताए । सर्लाहीका किसानहरूले सिंचाइको लागि स्यालो ट्युबवेल, इनार, मनुस्मारा नहर तथा बाग्मती र लखनदेही खोलाको पानी प्रयोग गर्ने गरेका छन् ।