धर्मेन्द्र चौरसिया, पोखरिया, ३० चैत/
तराईका जिल्लामा शुक्रवारदेखि चैती छठ शुरू भएको छ । यसपटक मुस्लिम समुदायको पवित्र रमजानको इद हिजोदेखि तीन दिन मनाइँदैछ भने भोलि विक्रम संवत् २०८१ नयाँ वर्ष शुरू हुँदैछ । तीनवटा पर्व मनाइने क्रममा आजदेखि चैती छठको व्रत शुरू भएको छ । अस्ताउँदो र उदाउँदो सूर्यको पूजा हुने हिन्दूहरूको पवित्र पर्व छठ पूजा शुरू भएको छ । छठको पहिलो दिन आज नहाय खायको विधि गरिएको छ । आजका दिन व्रतालुहरूले घरआँगनको सफाइ गर्ने, छठ पूजाको लागि घरका सबै फोहर वस्तुको विसर्जन गरी पवित्र पार्ने र शाकाहारी भोजन गर्ने गरिन्छ । आजको दिन लौकाका विभिन्न परिकार बनाएर खाइन्छ । हिन्दू धर्ममा लौकालाई पवित्र तरकारी मान्ने गरिन्छ र लौकाको प्रयोग नवरात्रिलगायतका व्रतको समयमा पनि प्रयोग गरिन्छ ।
लौका खाँदा उपवासको समयमा शरीरमा ताकत मिल्ने र चनाको दाल पनि अन्य दालको तुलनामा शुद्ध मानिने भएकोले व्रतमा यसको प्रयोग गरिएको पण्डित सन्तोष दुबे बताउँछन् । उनले व्रत शुरू भएदेखि चार दिन घरमा पाकेको खानामा लसुन र प्याजको प्रयोग गर्न नहुने बताए ।
भोलि शनिवार खरना रहेको छ । भोलि नै नयाँ वर्ष पनि मनाइँदैछ । भोलि छठका व्रतालुहरू दिनभर निर्जल उपवास बस्ने र रात्रिपख व्रतालु महिलाहरूले पूजापाठ गरी मिठाबाट बनाइएका खीर, पुरी, चनाको तरकारी खाएर व्रत तोड्ने गर्छन् ।
छठ पूजाको तेस्रो दिन अर्थात् आइतवार निर्जल उपवास शुरू गरी साँझ अस्ताउँदो सूर्यलाई अघ्र्य दिइन्छ । सो दिन राति घाट र घरमा कोशी भर्नेहरू रातभर जाग्राम बसेर छठीमाताको पूजा आराधनामा गीत गाउँछन् भने चौथो दिन सोमवार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएर उपवास तोड्छन् । सोमवार यस वर्षको चैती छठ पूजा समापन हुन्छ । छठ पूजा वर्षमा दुईपटक कात्तिक र चैत महीनामा मनाउने गरिन्छ । कात्तिकमा मनाइने छठ पूजा नेपालभरि धूमधामले सबैको सहभागितामा मनाइन्छ भने चैतमा मनाइने चैती छठ विशेषतः भाकल गरेकाहरूले मनाउने गर्छन् । पछिल्लो समयमा चैती छठ मनाउनेहरूको सङ्ख्यामा वृद्धि भएको छ ।