प्रस, रौतहट, ३० चैत/
रौतहट जिल्लामा चैत २९ गते एकै दिन चारजना नाबालिकाले आत्महत्या गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय, रौतहटकी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक एलिजा गिरीले बिहीवार एकै दिन चारजना नाबालिकाले आत्महत्या गरेको बताइन् ।
उनले कटहरिया नगरपालिका–२ जमुनिया निवासी १८ वर्षीय अविवाहित मनीषाकुमारी चौधरी, वृन्दावन नपा–८ निवासी १७ वर्षीय शिवानी साह, गढीमाई नपा–३ निवासी १६ वर्षीया असिया खातुन र दुर्गाभगवती गापा–२ गङ्गापिपरा नुनियाटोल निवासी १५ वर्षीया आँचलकुमारी दासले पासो लगाएर आत्महत्या गरेका उनले बताइन् ।
प्रवक्ता गिरीले आत्महत्याको मुख्य कारणबारे अनुसन्धान भइरहेको र प्रारम्भिक अनुसन्धानमा भने घरायसी कारण देखिएको बताइन् ।
उनले चालू आवको चैत मसान्तसम्म १८ जनाले आत्महत्या गरेको र त्यसमा १४ जना महिला तथा चारजना पुरुष रहेको बताइन् ।
उनले आत्महत्या गर्नेमध्ये बढीजसोको कारण खुलिनसकेको र केहीले भने घरायसी कारणले आत्महत्या गरेको देखिएको बताइन् । प्रवक्ता गिरीले यस अवधिमा विषसेवन गरेर आत्महत्याको प्रयास गर्नेहरूको सङ्ख्या २२ रहेको र त्यसमा पनि महिलाको सङ्ख्या १७ रहेको बताइन् ।
उनले चालू आवमा आत्महत्याको प्रयास गर्ने र आत्महत्याबाट मर्नेहरूमा महिलाको सङ्ख्या बढेको बताइन् ।
आत्महत्या गर्ने र आत्महत्याको प्रयास गर्ने सूचीमा १० देखि ३५ वर्ष उमेर समूहका महिला र पुरुष देखिएका उनले जानकारी गराएकी छन् ।