बलिराम शुक्ला, बिरुवागुठी, १९ चैत/
पर्सागढी नगरपालिका–१ स्थित जनता सडक कोइलाभार मन्दिर प्रवेशद्वारदेखि कोइलाभार टोलसम्म नवनिर्मित कालोपत्र सडकको सोमवार नगरप्रमुख गोकर्ण पाठकले उद्घाटन गरेका छन् ।
नगरस्तरीय भौतिक पूर्वाधार योजना अन्तर्गत दुई करोड ४५ लाख ६६ हजार रुपियाँको लागतमा १.५४ किलोमिटर कालोपत्र सडक निर्माण सम्पन्न भएको हो ।
कालोपत्र सडकको उद्घाटन गर्दै नगरप्रमुख पाठकले कच्ची सडकको मर्मत गर्दा बढी खर्च हुने र समय पनि नोक्सान भएर प्रतिफल नपाउने गरेकोले नगरस्तरीय योजना अन्तर्गत यसै वर्ष सम्पन्न हुनेगरी नगरपालिकाका छवटा स्थानमा दिगो सडक विकासको लागि कालोपत्र सडक निर्माण भइरहेको बताए । उनले यसैक्रममा कोइलाभार प्रवेशद्वारदेखि कोइलाभार टोलसम्मको सडक कालोपत्र गरिएको प्रस्ट्याए । उनले पर्सागढी नपा–१ को मनवा बजारदेखि भटनीटोल जोड्ने सडकखण्ड, वडा नं २ को बागवन्नादेखि छतवनटाँडी जाने सडकखण्ड, वडा नं ३ को मानव आश्रमदेखि आमोदेवी मन्दिर जाने सडकखण्ड, वडा नं ५ को जुमनीचोकदेखि वडा नं ४ जोड्ने हर्दिया–हरदासपुर सडकखण्ड र वडा नं ८ को वडा कार्यालयदेखि वडा नं ३ को वडा कार्यालय जोड्ने सडकखण्ड कालोपत्र भइरहेको बताए ।
नगरप्रमुख पाठकले शिक्षा, स्वास्थ्य, कृषि, भौतिक पूर्वाधारका कामलाई नगरपालिकाले उच्च प्राथमिकतामा राखेर काम गरिरहेको दाबी गरे ।
कार्यक्रममा निर्माण व्यवसायी जिएस थोकर र गोविन्द जेभीका ठेकेदार सन्तोष गुप्तालाई काम चाँडो र गुणस्तरीय गरेकोमा नगरप्रमुख पाठकले मायाको चिनो प्रदान गरेका थिए ।
पर्सागढी नगरपालिकाकी वडासदस्य चन्दादेवी थरुनीको अध्यक्षतामा भएको कार्यक्रममा उपप्रमुख पूजा चौधरी, प्रमुख प्रशासकीय अधिकृत रामदत्त भट्ट, वडाध्यक्ष वीरेन्द्रप्रसाद महतो, प्राविधिक शाखा प्रमुख जङ्गविजय साहलगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा पूर्ववडाध्यक्ष तुलाराम महतोले स्वागत र योजना शाखा प्रमुख प्रदीप चौरसियाले सहजीकरण गरेका थिए ।