प्रस, परवानीपुर, १९ चैत/
कृषि औजार केन्द्र, वीरगंजले सोमवार पर्सा र बारा जिल्लाका विभिन्न स्थानमा गरिएको आधुनिक आलु, मकै, गहुँ खेतीको अनुगमन गरेको छ ।
केन्द्रको आयोजनामा पर्साको बहुदरमाई नगरपालिका–८ र ९ को रामनगरी र विश्रामपुर, जगरनाथपुर गापा–३ को बिजवनिया र बारा जिल्लाको फेटा गापा–३ त्रिवेणीमा गरिएको आलु, मकै, गहुँ खेतीको अवलोकन मूल्याङ्कन भ्रमण गरिएको कार्यालय प्रमुख सचिन मिश्रले बताए ।
केन्द्रले दैनिक ज्यालादारी मजदूरको अभाव भएको वर्तमान अवस्थामा आधुनिक तरीकाबाट यी स्थानहरूमा खेतीपाती गरिएको र सोको आज अवलोकन मूल्याङ्कन गरिएको बताए । उनले बाराको फेटामा आलु, मकै खेती र बहुदरमाई, जगरनाथपुर र कार्यालय परिसरमा गरिएको गहुँ खेतीबारे अवलोकन मूल्याङ्कन गरिएको बताए ।
यी ठाउँहरूमा सुपर सिडर प्रविधि, न्यूनतम जोताइ प्रविधि,शून्य जोताई प्रविधि र मल्चिङ प्रविधिबाट खेती गरिएको र त्यसको प्रतिफल के कस्तो रह्यो भन्ने विषयमा अवलोकन मूल्याङ्कन गरिएको कार्यालय प्रमुख मिश्रले बताए ।
अवलोकन मूल्याङ्कन भ्रमणमा कृषि अनुसन्धान निर्देशनालय परवानीपुरका डा विश्वेश्वर प्रसाद यादव, कृषि ज्ञान केन्द्र, पर्साका कृषि अधिकृत कुशेश्वर यादव र केन्द्रका पूर्वप्रमुख कैलाश प्रसाद भुडेरलगायतको सहभागिता रहेको प्रमुख मिश्रले जानकारी गराए ।