एमाले मधेस प्रदेश कमिटीको चन्द्रपुरमा बैठक, ठूलो दलको हैसियतले मधेस सरकारमा दाबी

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, वीरगंज, २७ फागुन/
एमालेले मधेस प्रदेश सरकारमा आफ्नो दाबी पेश गरेको छ । एमाले मधेस प्रदेश कमिटीको आइतवार रौतहटको चन्द्रनिगाहपुरमा बसेको दोस्रो बैठकले मधेस सरकारमा आफ्नो दाबी पेश गर्ने निर्णय गरेको हो ।

मधेसमा एमाले सबैभन्दा ठूलो दल भएकोले मधेस प्रदेशको नेतृत्व आफ्नो दलले पाउनुपर्ने भन्दै बैठकले निर्णय गरेको सचिव मनोज पौडेलले बताए । उनले मधेस र मधेसी जनताको समृद्धि एमाले नेतृत्वले मात्रै दिन सक्ने भन्दै त्यसका निम्ति एमालेको नेतृत्वमा मधेसमा सरकार बन्नुपर्ने निर्णय गर्दै यसका लागि केन्द्रीय नेतृत्वमा पहल गर्ने बताए ।

एमालेका केन्द्रीय सचिव एवं मधेस प्रदेश इन्चार्ज योगेश भट्टराईले एमालेले कुनै पनि अवस्थामा मधेस प्रदेशमा आफ्नो दाबी छाड्न नहुने भन्दै यसका लागि केन्द्रीय नेतृत्वसँग जोडदार पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले मधेसी जनताको जनमत एमाले नेतृत्व सरकारको लागि भएकोले गठबन्धनमा आबद्ध दलहरूले पनि जनमतको कदर गर्दै निश्शर्त एमालेलाई नेतृत्व दिनुपर्ने बताए ।

एमाले मधेस प्रदेश अध्यक्ष चन्देश्वर मण्डलको अध्यक्षता बसेको बैठकमा पार्टीका पोलिटब्युरो सदस्य, केन्द्रीय सदस्य, मधेस प्रदेश सदस्यहरूको सहभागिता थियो ।

मधेस प्रदेशको कुल १०७ सिटमध्ये एमाले २४, नेपाली काङ्ग्रेस २२, जनता समाजवादी पार्टी १९, जनमत पार्टी १३, लोकतान्त्रिक समाजवादी पार्टी ९, माओवादी केन्द्र आठ, नेकपा (एकीकृत समाजवादी) सात, नागरिक उन्मुक्ति पार्टी, राप्रपा, नेपाल सङ्घीय समाजवादी पार्टी र स्वतन्त्र एक/एक सिटमा विजयी छन् । अहिले मधेस प्रदेशमा १९ सिटको जसपा नेतृत्वको सरकार छ ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।