प्रस, वीरगंज, २४ फागुन/
बारा, पचरौता नगरपालिका–४ का अध्यक्ष कन्हैयालाल यादवले गलत तरीकाबाट बाटो सिफारिश गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टङ्गालले मुद्दा दायर गरेको छ ।
आयोगले जारी गरेको प्रेस विज्ञप्ति अनुसार वडाध्यक्ष यादवले कालोपत्रसँग जोडिएको जग्गा खेत रहेको भनी बाटो सिफारिश गरी लाखौं रुपैयाँ राजस्व हिनामिना गरेको स्थानीयले उजूरी गरेका थिए । पचरौता नपा–४ (साबिक बेलदारी गाविस वडा नं ४)को किता नं १७३ क्षेत्रफल ०–९–५ जग्गा विद्या यादवको थियो । सो जग्गा स्थानीय अवधकिशोर यादव र बृजकिशोर यादवले मालपोत कार्यालय, बाराबाट संयुक्त पुर्जा बनाइ राजीनामा पास गर्न सिफारिश गरेका थिए ।
विवादित जग्गा ३० फिटको कालोपत्र सडकसँग जोडिएको जग्गा हो । तर राजस्व हिनामिना गर्ने उद्देश्यले वडाध्यक्ष यादवले सो जग्गा खेत भएको भन्दै २०८० वैशाख १८ गते बाटो सिफारिश गरेका थिए ।
अहिले सो जग्गाको मूल्य एक करोडभन्दा बढी रहेको तर वडाध्यक्ष यादवले नौ लाख मूल्याङ्कन गरी राजस्वको रकम हिनामिना गरेको देखिन्छ । अख्तियारले वडाध्यक्ष कन्हैयाले बाटो सिफारिशमा आठ लाख ११ हजार ९५१ रुपियाँ राजस्व हिनामिना गरेको भन्दै असुलउपर गर्न कारबाईको लागि सिफारिश गरेको छ ।
त्यसैगरी, जग्गा बिक्री गर्ने विद्या यादवमाथि पाँच लाख ३४ हजार १८७ लाभकर छलेको, जग्गा खरीदकर्ता बृजकिशोर यादव र अवधकिशोर यादवले दुई लाख ७७ हजार ४६३ रजिस्टे«शन दस्तुर छली गरेको भन्दै उनीहरूमाथि पनि आरोपपत्र दायर गरेको छ ।