प्रस, परवानीपुर, २३ फागुन/
वीरगंज महानगरपालिका–२१ परवानीपुरस्थित पाना पेपर वक्र्समा मजदूरलाई निष्कासित गरेको विषयलाई लिएर बुधवारदेखि विवाद शुरू भएको छ ।
सो उद्योगमा कार्यरत आठजना मजदूरलाई दुई महीना अवधिमा निष्कासित गरिएको विरोधमा हिजो मङ्गलवारदेखि त्यहाँ कार्यरत मजदूरहरू विरोधमा उत्रिएका हुन् ।
गत माघ ३ गते सो उद्योगमा कार्यरत मजदूरहरू प्रदीप कुर्मी, रवीन्द्रप्रसाद जयसवाल, विजय यादव, शिववंशी पटेल, राजाराम यादव र प्रदीप पटेल गरी छजनालाई उद्योगले निष्कासित गरेको थियो । यसैगरी, यही फागुन १९ गते थप दुईजना सिद्धान्त र कुन्दन पटेललाई निष्कासित गरेको थियो । उद्योगमा २७ जना मजदूर रहेकामा एकपछि अर्को गरी दुई चरणमा आठजनालाई निष्कासित गरेपछि हिजोदेखि व्यवस्थापन पक्षको विरोधमा उत्रेको मजदूर नेता प्रदीप पटेलले बताए ।
कार्टुन उत्पादन गर्ने कारखानामा श्रमिक सङ्घको एकाइ गठन भएपछि कारखानाले एकपछि अर्को सङ्घमा आबद्ध मजदूरहरूलाई हटाउन शुरू गरेको मजदूर नेता पटेलले बताए । उनी सङ्घमा आबद्ध भएकै कारण फागुन १९ गते निष्कासनमा परेका थिए । कारखानाका प्रशासन अधिकृत ताराचन्द्र यादवले उत्पादन घटेकाले आर्थिक व्ययभार सहन गर्न नसकी कारखाना व्यवस्थापन पक्षले मजदूरहरूलाई निष्कासित गर्नुपरेको बताए । उनले कारखानामा गठन भएको श्रमिक सङ्घ पनि वैधानिक नरहेको दाबी गरे ।